मास्टर मित्रसेनको शालिक चाँडै बनाउने प्रयासमा छौं–कुलपति भुपाल राई

मास्टर मित्रसेन थापाको १३० औं जन्मजयन्ती भब्य रुपमा मनाइयो

मास्टर मित्रसेन थापाको १३० औं जन्मजयन्ती कार्यक्रम शनिबार सम्पन्न भएको छ ।


मास्टर मित्रसेन स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा मास्टर मित्रसेन थापाको तस्वीरमा मालार्णपन गरी १३० औं जन्मजयन्ती मनाइएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले मास्टर मित्रसेन थापाको १३० औं जन्मयन्तीका बारेमा लेखिएको ब्यानर पाठ गरी कार्यक्रमको उयद्घाटन गर्नु भएको थियो ।


उहाँले कार्यक्रममा बोल्दै गतवर्ष देखि मास्टर मित्रसेन थापाको जन्मजयन्ती मनाउन थालिएको बताउनु भयो । उहाँले भन्नु भयो–‘हामीले हाम्रा पुर्वजहरुलाई सम्झीदा उहाँहरुले गर्नु भएको योगदान र कृर्तिहरुलाई सामान्य रुपमा चर्चा परिचर्चा गर्ने गर्दछौं । विशेष गरी नेपालका आदिबासी जनजातिहरुले आफ्ना पुर्वजहरुका योगदान र कृतिहरुलाई सामान्य चर्चा परिचर्चा गर्ने गर्दछौं तर हामीले प्राज्ञीक रुपमा चर्चा र परिचर्चा गर्दैनौं । अब समय अघि बढी सकेको छ पुर्वजहरुका योगदान र कृर्तिहरुलाई प्राज्ञिक रुपमै बहस र चर्चा गर्न आवश्यक छ । हामीले जबसम्म प्राज्ञिक रुपमा चर्चा, छलफल र बहस गर्दैनौं तबसम्म हाम्रा पूर्वजहरुका योगदान र कृर्तिहरु ओझेलमा पर्नेछन् ।’

कुलपति राईले मास्टर मित्रसेनको जन्मजयन्तीलाई स्मरण गर्दै भन्नु भयो –‘विगतका दिनहरुमा योगदान र अथक प्रयास गरी जितेर ल्याएका सांस्कृतिक पक्षलाई कार्यक्रमसम्म ल्याउन सकेका छौं । प्राज्ञिक रुपमा अझ पनि ल्याउन सकेका छैनौं । अबका नयाँ पुस्ताले सांस्कृतिक पक्षलाई प्राज्ञिक चेतनासम्म पुराउन आवश्यक छ ।’

नेपालमा प्रज्ञा प्रतिष्ठानले मास्टर मित्रसेन थापा (सिंजाली मगर)को जन्मजयन्ती बनाउन थालेको २ वर्ष भएको छ । प्रतिष्ठान प्राज्ञिक थलो भएको हुनाले प्राज्ञिक व्यक्तित्वको पहिचान हुने गर्दछ । त्यसैमध्ये ढिलै भएपनि प्रज्ञा–प्रतिष्ठानले मास्टर मित्रसेनको जीवनी र योगदान र कृर्तिहरुको विषयमा चर्चा परिचर्चा भईरहेको छ । कुलपति राईले भन्नु भयो –‘प्रज्ञा प्रतिष्ठानमा रहेका ५, ६ वटा शालिक छन् जुन शालीक समावेशी छैनन्, यी ४, ५ वटा शालिक मात्र भएर हुँदैन, ८, १० वटा शालिक अझ थप्नु पर्दछ । मातृ भाषामा योगदान दिएका थुप्रै कविहरुको पनि शालिक राख्नु पर्छ भनेर पटक पटक आवाज उठाउदै आइरहेको छु । म आएदेखि विभिन्न कृर्तिमा योगदान दिने व्यक्तिहरुको शालिक राख्ने भनेर पहल गरेको छु तर मेरो आवाज सुनिएको छैन र बजेट पनि छैन, तर मैले मेरो कार्यकालमा प्रज्ञा–प्रतिष्ठानलाई समावेशी बनाउन सक्दो प्रयास हुनेछ ।’

यति बेला नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली वृहत् शब्दकोषमा सबै समुदायको भावना अट्नु पर्छ भनेर थुपै्र सुझाव सल्लाह र पत्रहरु आइरहेका छन् उहाँले भन्नु भयो –‘म प्रतिष्ठानमा आउने बित्तिकै सुरुमा पत्रकारको प्रश्नलाई जवाफ दिर्दै वृहष नेपाली शब्द कोषलाई परिमार्जन गर्छु भनेर जवाफ दिएको थिए । विभिन्न जातजातिको मातृभाषाको विषयका के कस्ता समस्या भएका छन् । नेपाली वृहत शब्द कोषलाई साझा बनाउन म सक्रिय भएर लागि परेको छु । एउटा वृहत् पुस्तक निकाल्न धेरै बजेट लाग्ने गर्दछ । यस्ता सबै विषयलाई ध्यान दिर्दै नेपाली वृहत शब्द कोषलाई प्राज्ञिक व्यक्तित्वहरुसँगको राय सल्लाह लिएर अगाडि बढीरहेको छु । तपाईहरुको साथ र सहयोग सल्लाह सुझाव भयो भने पक्कै पनि नेपाली वृहत शब्दकोषलाई साझा बनाउन सक्नेछौं उहाँले भन्नु भयो ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मास्टर मित्रसेन थापालाई राज्यले पहिचान गर्नु पर्ने धारणा राख्नु भयो । प्रज्ञा–प्रतिष्ठानले सबै नेपाली समुदायको भावनालाई सम्बोधन गर्दै उनीहरुले देश र समुदायकालागि खेलेको योगदान र महत्वपूर्ण कृर्तिहरुलाई विभेद नगरी न्याय गर्नु पर्ने बताउनु भयो । प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोषमा आदिबासी जनजातिको भावनालाई ठेस पुग्ने शब्दहरु राखिएको भन्दै आपत्ति जनाउनु भयो त्यसलाई परिर्माजन गर्न समेत अध्यक्ष पुनमगरले सुझाव दिर्दै मास्टर मित्रसेन थापाको योगदान र कृर्तिलाई राज्यले तत्काल न्याय दिनु पर्नेमा जोड दिनु भयो ।

मास्टर मित्रसेन थापाको जन्मजयन्तीलाई स्मरण गर्दै मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष त्रिलोक सिंह थापामगरले मित्रसेन थापाको योगदानलाई राज्यले पहिचान गर्नु पर्नेमा जोड दिनु भयो । मित्रसेनको योगदान र कृर्तिहरुलाई पहिचान गरेर भारत सरकारले सम्मान गरेको स्मरण गर्दै नेपाल सरकारले पनि मास्टर मित्रसेन योगदानलाई कदर गर्नु पर्ने भन्दै आफ्ना भनाईहरु राख्नु भयो ।


प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले मास्टर मित्रसेन थापाको १३०औं जन्मयन्तीलाई स्मरण गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो । उहाँले मास्टर मित्रसेनका कृर्तिहरुलाई प्रतिष्ठानले सम्मान गर्ने र प्राज्ञिक क्षेत्रमा योगदान पुराउने व्यक्तित्वहरुलाई राज्यले कहिल्यै बिर्सिन नहुने धारणा राख्नु भयो । साथै उहाँले कार्यक्रमको औचित्यमाथि पनि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष गौबहादुर आलेमगरले मास्टर मित्रसेन थापामगरको बारेमा स्मरण गर्नु भएको थियो । उहाँले झ्याउरे मास्टर मित्रसेन थापा (सिंजाली मगर)का बारेमा बताउँदै नेपाली साहित्य, संगीत र शिक्षाको क्षेत्रमा विशिष्ठ योगदान पुराउने बहुआयामिक व्यक्तित्व रहेको बताउनु भयो । मित्रसेन कुशल साहित्यकार, गीतकार, गायक, लेखक र संगीतकार भएको बताउदै मित्रसेनले आफूलाई सामाजिक जनजागरणका अभियन्ता मान्ने गरेको उल्लेख गर्दै मित्रसेनको अभियन्ताले नेपाली समाजलाई परिवर्तन गर्न ठूलो योगदान पुगेको बताउनु भयो । विशेष गरी मित्रसेनको कृर्तिहरु झ्याउरे, लोकगीत, भक्ति संगीत र राष्ट्रिय भावनाले ओतप्रोत सिर्जनाहरु प्रस्तुत गरेको बताउनु बताउँदै सैनिक पेशामा आबद्ध रहेर पनि मित्रसेनको समाज परिवर्तन गर्न ज्ञानको ज्योति फैलाएको बताउनु भयो । भारतको हिमालचल प्रदेश भाग्सु धर्मशालामा २९ डिसेम्बर १८९५मा जन्म भएको बताउँदै मित्रसेन थापाले नेपाली भाषा, संस्कृति र धर्मको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको आलेले बताउनु भयो । मास्टर मित्रसेनको योगदानले नेपाली भाषा, साहित्य र संस्कृति प्रेमहरुका लागि सधैं प्रेरणादायक रहेको समेत उल्लेख गर्नु भयो ।

कार्यक्रममा वरिष्ठ कलाकार खड्क बुढामगरले लाहुरेको रेलिमाई……..गीत गाएर मास्टर मित्रसेन थापालाई स्मरण गराउनु भएको थियो ।

त्यसैगरी मास्टर मित्रसेन स्मृति प्रतिष्ठानकी उपाध्यक्ष गायत्री रानामगरले मित्रसेनको संक्षिप्त जिवनी र परिचयमाथि कार्यपत्रमार्फत प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजिकरण प्रतिष्ठानका सदस्य रितु रानाले गर्नु भएको हो ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञहरु, सभा सदस्यहरु, मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका पदाधिकारी सदस्यहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको प्रतिष्ठानकी उपाध्यक्ष गायत्री रानाले बताउनु भयो।