तिब्बती रूखका घेराहरूले जलवायु तनाव र चिनियाँ वंशवादबीच सम्बन्ध देखाए–अध्ययन

जलवायु तनाव र सामाजिक अशान्तिबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै हजारौँ वर्षको वर्षाको ढाँचा पछ्याउने एक अध्ययनले सुक्खा अवधिहरू चीनमा वंशवादी उथलपुथलको युगहरूसँग मिल्दोजुल्दो पाएको छ ।

एक अनुमान अनुसार गत वर्ष विश्वव्यापी र चीन दुवैमा सबैभन्दा तातो वर्ष रेकर्ड गरियो । चरम मौसमी घटनाहरूले विश्वभर विनाश मच्चाए र प्राकृतिक प्रकोपहरूले तीन खर्ब १० अर्ब डलरको आर्थिक क्षति पुर्‍याएको थियो ।

तिब्बती पठारमा किलियन जुनिपर रूखहरूको घेरा विश्लेषणको आधारमा यस महिना प्रकाशित अनुसन्धानले जलवायु तनावले कसरी समाज र शक्तिलाई हजारौँ वर्षअघि परिवर्तन गरेको थियो भन्ने बारे झलक प्रस्तुत गर्दछ।

“विश्वव्यापी जलवायु परिवर्तनबारे बढ्दो चिन्ताहरूलाई ध्यानमा राख्दा ऐतिहासिक र वर्तमान दुवै ‘हाइड्रोक्लाइमेट’ मा परिवर्तनहरू बुझ्न महत्त्वपूर्ण छ”, अनुसन्धानकर्ताहरूले प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित प्रतिवेदनमा लेखेका छन् ।

रुखका घेराहरूमा भएका आइसोटोपहरू –– विशिष्ट गुणहरू भएका रासायनिक तत्वका रूपहरू –– को परिवर्तनलाई समय–समयमा वर्षाको विविधता बुझ्न प्रयोग गर्न सकिन्छ ।

यसले चिनियाँ एकेडेमी अफ साइन्सेजका धेरै अनुसन्धानकर्ताहरूलाई विगत तीन हजार चार सय ७६ वर्षको जलवायु रेकर्डको पुनर्निर्माण गर्न सक्षम बनायो।

“हाम्रो जल–जलवायु पुनर्निर्माणले लामो आद्र्र अवधिपछि दीर्घकालीन वर्षा घट्ने तीन विशिष्ट चरणसहित धेरै चिनियाँ राजवंशको उदय र पतन सुक्खा अवस्थातर्फको महत्त्वपूर्ण परिवर्तनको समयसँग मेल खान्छ भन्ने सङ्केत गर्दछ”, प्रतिवेदनमा भनिएको छ ।

ईसापूर्व ११० देखि ईस्वी २८० सम्म चलेको पहिलो सुक्खा चरणमा छोटो अवधिको जिन राजवंश स्थापना भयो र त्यसपछि द्रुत गतिमा पतन भयो ।

“ईस्वी १४ पछि जलवायु सुक्खा भएपछि अनिकाल र नरभक्षणका घटनाहरू बढे, जसले व्यापक विद्रोह निम्त्यायो र अन्ततः राजवंशको पतनमा परिणत भयो”, प्रतिवेदनले भन्यो ।

प्रतिवेदनअनुसार यो सुक्खा अवधि तीन राज्य कालको युद्धहरूसँग मिल्दोजुल्दो थियो र यसले गर्दा सुक्खाका कारण निम्त्याएको व्यापक अनिकालसँगै चीनको जनसङ्ख्या छ करोडबाट घटेर तीन करोड हुन पुग्यो ।

दोस्रो चरण ईस्वी ३३० र ७७० बीचको थियो । यसमा तुयुहुन, सुई र ताङ राजवंशहरू पर्छन् । ईस्वी ९५० देखि १३०० सम्मको तेस्रो चरण सोङ राजवंश र यसको पतनसँग मेल खान्छ ।

“प्रत्येक राजवंशको प्रारम्भिक चरणहरूमा आद्र्र अवस्थाहरू समृद्धिको अवधिसँग सम्बन्धित थिए भने सुक्खातर्फको क्रमिक परिवर्तन लगातार तिनीहरूको गिरावट र अन्ततः पतनसँग मेल खान्थ्यो”, प्रतिवेदनले भनेको छ ।