सार्वजनिक यातायातलाई चुस्त र वातावरण मैत्री बनाउन जरुरी छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताउनुको छ । बुधबार एशियाली विकास वैंक र मन्त्रालयको आयोजनामा काठमाडौमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा भएको कार्यक्रममा उहाँले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताउनुभयो ।

नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भुमिका रहेको भन्दै उहाँले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत अझ स्तरीय र पहुँच योग्य बनाउन सकिने समेत बताउनुभयो । यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागीता स्वागत योग्य रहने उहाँको भनाई छ । यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवम् व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेने मन्त्री दाहालले बताउनुभयो ।

यातायात क्षेत्रमा स्वच्च उर्जा तथा ईन्धनको उपयोगलाई सरकारले प्रोत्साहन गरी रहेको भन्दै उहाँले यसका लागि चाहिने चार्जिङ् स्टेशन, पार्किङ्, मर्मत लगायतलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । साथै मन्त्रालयका सचिव केशवकुमार शर्माले शहरीकरण र शहर विस्तार नियमित प्रकृया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताउनुभयो । तर शहरीकरणको विस्तार र विकासलाई व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँच योग्य बनाउनु पर्नेमा जोड दिनुभयो ।