माओवादी घटकले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै , केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना

बिभिन्न माओवादी घटकले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादीहरुले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् । यसै अवसरमा माओवादी केन्द्रले आज जनयुद्ध दिवसको अवसरमा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेको बताएका छन् ।

उनले भनेका छन् दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएका हो । ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’

दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । ०७९ माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को उक्त निर्णय सर्वोच्च आदेशले रोक लगाएको थियो ।