विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौं : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलता आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले भने, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसैले हामी जसरी पनि टुङ्ग्याउँछौँ । त्यो रोकिने वाला छैन । अनेक विकल्पहरू छन् ।’ उनले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको बताए ।

‘सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको छ । एक दशकमा कसरी के गर्ने भन्ने योजना बनाउन सकेको छैन । सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनुपर्छ भनेर लागेका छौँ । सरकारले अहिले अध्यादेशका माध्यमबाट पनि यो क्षेत्रलाई सम्बोधन गर्न कोसिस गरेको छ ।’