काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो मन्त्रालयले थुप्रै कामहरू गरेको बताएका छन् । मन्त्रालयमा शुक्रबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री दाहालले चालू आर्थिक वर्षको माघ मसान्तसम्म गरिएका कामको विवरण प्रस्तुत गर्दै भने ‘हाम्रो मन्त्रालयले केहि काम गरेन भनेर एक खालको प्रचार भएको छ त्यो सत्य होईन यथार्थमा मन्त्रालयले ‘भौतिक पूर्वाधार क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम गरिरहेको छ । पहिलो सय दिनमा १० वटा र दोस्रो सय दिनमा १२ वटा कामका क्षेत्रको किटान गरिएको थियो । सो कार्यक्रम लक्ष्य उन्मुख रहेको छ ।’
यसबिचमा वर्षात र बाढीको प्रकोपले सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनमा लाग्नु परेकाले लक्ष्य प्राप्तिमा कमी भएको बताउदै चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्येबाट २८.१५ प्रतिशत बजेट खर्च भएको उनले बताए ।मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरिएको थियो ।
उनले सडक निर्माणले पनि गति लिईरहेको बताए । मन्त्री दाहालले माघ मसान्तसम्म दुई लेनको २ सय ४६ किलोमिटर र दुई लेनमाथिको ३०.५८ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए ।
साथै यस अवधिमा ४१ वटा पुल निर्माण सम्पन्न भएको उनले बताए । थुप्रै ठुला आयोजनाहरू पनि लक्ष्यअनुरूप निर्माण भइरहेको उनले बताए ।
सरकारले सबै कामलाई गति दिन अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध भएकोमा असन्तुष्टि जनाए ।


















