गुल्मीमा साढे एक वर्षको अवधिमा ६४ जना नागरिकले गैरआवासीय नागरिकता लिए ।

गुल्मी जिल्लामा हालसम्म ६४ जना गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गरेका छन् ।
झन्डै साढे एक वर्षको अवधिमा ६४ जना नागरिकले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
नेपालमा गत वर्षको असोज महिनाबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो ।

गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो ।
नेपालबाट विदेशमा गएर त्यहीको नारिकता लिइसकेका प्रवासी नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिन सुरु गरेका छन् ।
गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो ।
गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, पासपोर्ट बनाउन पाउने छैनन् । तर सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।