त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्बाट चैत्र २० मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन समन्वय गर्न नेपाली काङ्ग्रेसले सातै प्रदेशमा आफ्ना नेता खटाएका छन् ।
चार प्रदेशमा सहमहामन्त्रीलाई कमान्डर बनाइएको छ भने तीन प्रदेशमा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । काङ्ग्रेस अध्यक्ष शेरबहादुर देउवासहितका शीर्ष नेताले महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी दिएका थिए ।
महामन्त्री शर्मासहितका नेताहरूको छलफलपछि सातै प्रदेशमा संयोजनका लागि नेताहरू खटाइएको हो । कोशी प्रदेशमा संयुक्त महासचिव भिष्मराज अङ्गदेम्बे, माधेश प्रदेशका महेन्द्र यादव, बाग्मती प्रदेशका महालक्ष्मी उपाध्याय ’डिना’ र गण्डकी प्रदेशका जीवन परियारलाई जिम्मेवारी दिइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारी, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई कमान्डरको जिम्मेवारी दिइएको छ । त्यस्तै स्ववियु निर्वाचनमा पार्टी केन्द्रीय कार्यालय सानेपाबाट संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ ।


















