जलवायु न्यायको विषय अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडलले जलवायु परिवर्तनमा कुनै भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताएका छन्। भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित सम्मेलनको उद्घाटनको गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वसमक्ष लैजानुपर्ने बताए।

जलवायु परिवर्तनमा कुनै भूमिका नभएका, अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन र विकसित देशहरूमा कार्बन उत्सर्जनबाट प्रभावित भएका नेपालजस्ता विकासशील र अविकसित देशहरूको सन्दर्भमा जलवायु न्यायको मुद्दा जोडदार ढङ्गले उठाउनुपर्ने धारणा उनले व्यक्त गरे।

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र व्यवस्थापनको प्रभाव कम गर्ने जस्ता मुद्दाहरू जोडेर भौगर्भिक सम्मेलनको महत्वलाई बढाइएको बताउँदै राष्ट्रपति पौडलले मानव जीवनमा प्रत्यक्ष असर पार्ने यस्ता संवेदनशील मुद्दाहरूलाई सम्बोधन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहयोग र सहकार्यको आवश्यकता रहेको बताए।

पृथ्वीको तापक्रममा भएको अप्राकृतिक वृद्धिलाई उद्धृत गर्दै राष्ट्रपति पौडलले विगत तीन दशकमा हाम्रा पाहाडमा हिउँ पग्लिएको र हिमनदी फुटेको, अधिकांश पाहाडहरू खाली पाहाडमा परिणत हुने प्रक्रियामा रहेको र अत्यधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी जनधनको ठूलो क्षति भइरहेकोमा चिन्ता व्यक्त गरे।

हिमाली पर्वत श्रृङ्खलामा कहिलेकाहीँ आउने भूकम्प नेपालको पर्वतीय देशको विकास र निर्माणका लागि पनि समस्या भएको बताउँदै उनले केही प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पको पूर्वानुमान गर्ने संयन्त्र आविष्कार गर्न नसकेपछि समस्या उत्पन्न भएको धारणा व्यक्त गरे।

नेपालको खानी र खनिज जन्य पर्दाथको स्थित, अन्वेषणको अवस्था, जलवायु परिवर्तन र यसको प्रभाव र भौतिक पूर्वाधार विकासमा भूविज्ञानको प्रयोगबारे छलफल हुने विश्वास व्यक्त गरे। प्राकृतिक स्रोतको उत्खनन, उपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यानाकर्षण गराउन भौगर्भिक सम्मेलन उपयोगी हुने विश्वास पनि उनले व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, “२०७२ सालको गार्खा भूकम्प गएको एक दशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको समीक्षा समेत गरिने भएकाले यो भौगर्भिक सम्मेलनको विशेष महत्व छ, सम्मेलन सफलताका कामना गर्दछु ।”