बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए ।