प्रधानमन्त्री ओली आज थाइल्यान्ड भ्रमण जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैँठौ समिटमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।
थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको पहिलो औपचारिक विदेश भ्रमण हो ।
प्रधानमन्त्री ओलीले त्यहाँका प्रधानमन्त्री सिनावात्रासँग विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले थाइल्यान्ड सरकारले केही सम्झौतामा हस्ताक्षर हुन सक्ने र त्यसको तयारी चलिरहेकाले टुंगो लागिसकेपछि जानकारी गराइने बताए ।
अप्रिल २ अर्थात २० गते प्रधानमन्त्री ओलीको स्वागत थाई सरकारले एक कार्यक्रमको आयोजना गर्नेछ । सो कार्यक्रमपछि दुई प्रधानमन्त्रीबिच औपचारिक भेटघाटा तथा वार्ता हुनेछ र त्यहाँ केही समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
दुईपक्षीय भेटघाटमा आर्थिक सहयोग तथा दुई देशका जनताबिचको सम्बन्ध अझै बलियो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारका उच्चपदस्थ अधिकारीसहित २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ ।
ओलीले चैत २२ गते सो समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । समिटलाई सम्बोधन गरेर उनी २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारका उच्चपदस्थ अधिकारीसहित २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ ।