नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताएको छ । जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अनुकरणीय रहेको बताए ।
“प्रजातन्त्र पुन:स्थापना, लोकतान्त्रको सबलीकरणका लागि नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रियरुपले सहभागी भएका न्यौपानेले पटकपटक जेल जीवन विताउनुभयो”, सभापति देउवाले भने, “पञ्चायको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिए ।”
सभापति देउवाले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुन:स्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहेको स्मरण गरे ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्राको सुरुआत न्यौपानेबाटै भएको स्मरण गर्दै सिद्धान्तप्रतिको निष्ठा, नैतिकता र सदाचार उनीबाट अनुशरण गर्न लायक रहेको बताए ।
कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेको निष्ठा, त्याग र सिद्धान्तप्रतिको प्रतिबद्धता सदैव प्रशंसनीय रहेको बताए । नेत्री एवं राष्ट्रियसभा सदस्य कमला पन्तले पछिल्लो समय पार्टीमा निष्ठा कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्दै देश र जनताप्रतिको सेवाभाव र विश्वास न्यौापनेबाट सिक्नुपर्ने बताए ।
कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एवं राष्ट्रियसभा सदस्य किरणबाबु पुनले जलिट राजनीतिक परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर न्यौपानेले अघि बढाउनुभएको राजनीतिक यात्रा अविस्मरणीय रहेको बताए । नेता डा मिनेन्द्र रिजालले पञ्चायतको कठिन र जटिल अवस्थामा जनतासँग जोडिएर न्यौपानेले प्रजातन्त्र र लोकतान्त्रका निम्ति आफूलाई समर्पित गरेको बताए।
कार्यक्रममा कांग्रेस नेता चीनकाजी श्रेष्ठ र नन्दलाल न्यौपानेलगायतले दिवङ्गत न्यौपानेको राजनीतिक जीवनको चर्चा गर्दै उनको विचार र भावना अनुशरण गर्न सकेमात्रै सञ्चा श्रद्धाञ्जली हुने बताए ।
सो अवसरमा सभापति देउवाले ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गर्नुभएको थियो । सो ग्रन्धमा विसं २०१४ देखि राजनीतिक यात्रा आरम्भ गरेका न्यौपानेसम्बन्धी ४७ वटा संस्मरणात्मक लेखरचना समावेश छन् ।


















