काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिबाट गरेको निर्णय अक्षरशः पालना भएको खण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही नेताहरूको पद स्वतह जाने भएको छ । नेताहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, डा धवलशमशेर राणा र हरिबहादुर बस्नेतको पद जाने भएको हो ।
राप्रपाले गत पुस ५ र ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचारधारा भएपनि पार्टीभन्दा बाहिरका समूह वा अभियानको कार्यसमितिमा रहेर नेताहरूले कार्य गरेको पाइए स्वतः पदमा नरहने निर्णय गरेको थियो । सो निर्णयलाई गत माघमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन नै गरेको थियो ।
पार्टीका नेताहरू राजसंस्था फर्काउने उद्देश्यका साथ गठन भएको पार्टी बाहिरको राजावादी समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मा सक्रियतापूर्वक लागेपछि राप्रपाले सोही पुरानो निर्णयलाई स्मरण गराउँदै सचेत गराएको छ
‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने’, विज्ञप्तिमा भनिएको छ



















