अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई सर्वोच्च अदालको आदेश

सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ ।

थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको हो ।

सर्वोच्चले आदेशमा भनेको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।’

केही दिनअघि कांग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्ति विरुद्ध अधिवक्ता अनन्तराज लुईंटेल लगायतले अवहेलनाको कारबाही माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।