जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ ।
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
उक्त हतियार पेस्तोल नै हो या अन्य खेलौना हो भन्ने कुरा छानबिनपछि थाहा हुने खतिवडाको तर्क छ ।तर उनी आफैंले भने उक्त हतियार पेस्तोल नभई खेलौना भएको जवाफ दिएकी छन् । उक्त नृत्य पनि नेपालमा नभई भारतको सीतामढीमा गरेको जवाफ उनले दिएकी छन् ।
‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरा मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय परम्पराअनुसार आफन्तको आँगनमा भाइबहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोई’ खेलौनाले फायर गरेकी थिएँ। त्यही कुरालाई अतिरञ्जित नबनाइदिनु हुन अनुरोध गर्दछु’, सिंहले भनेकी छन् ।


















