दरबारिया षड्यन्त्रमा परेका केही देशभक्त पात्रहरू

देशभक्त तथा मुलुकका लागि अनुकरणीय र प्रशंसनीय कार्य सम्पन्न गरेका योग्य व्यक्तिहरू पनि षड्यन्त्रकारी राजनीतिको कारण दण्डित भएका घटना विश्वइतिहासमा भेटिन्छन्। नेपालमा पनि राजभक्त, देशभक्त र मुलुकको स्वाभिमानपूर्ण छवि एवम् प्रतिष्ठाका लागि उल्लेख्य योगदान गरेका व्यक्तिहरू उल्लेख्य छन्। उनीहरूले षड्यन्त्रकारी राजनीति र सत्ताका महत्त्वाकाङ्क्षीका कारण दण्डित र अपमानित हुनुपरेको दृष्टान्त पनि छन्।

लिच्छविकालसम्म ऐतिहासिक सामग्रीको अभावमा षड्यन्त्रकारी राजनीति र त्यसको चपेटामा परेका यस्ता व्यक्तिहरूका विषयमा खासै जानकारी उपलब्ध हुन सकेको देखिँदैन। राजा शिवदेवको सन्यास, उदयदेवको भोट निर्वासन र विष्णुगुप्त जस्ता शासकहरूको पलायन आदि घटना पनि षड्यन्त्रकै कारण भएको अनुमान भने गर्न सकिन्छ। यसैगरी मध्यकालीन नेपालको इतिहास अध्ययन गर्दै जाँदा खसिया मल्ल तथा काठमाडौँ उपत्यकाका मल्लराज्यमा पनि मुलुकलाई गुण लगाएका व्यक्तिहरू अनाहकमा मारिएका उदाहरण छन्। नेपालको प्रभाव विस्तार गरी भोटको आन्तरिक र बाह्य व्यापारमा नेपालीको वर्चस्व कायम गरी अर्थतन्त्रलाई नै सबल बनाउने कार्य काजी भीम मल्लले प्रारम्भ गरेका थिए। कान्तिपुरका राजा प्रताप मल्लको पालामा काजी भीम मल्लले भोटलाई युद्धमा हराएर नेपाल अनुकूल सन्धि गरेका थिए थिए।

उक्त सन्धिअनुसार कान्तिपुरका व्यापारीले ह्लासामा ३२ कोठी खोल्न पाउने, नायो नियुक्त गर्न पाउने, नेपाली व्यापारीलाई कुनै भन्सार शुल्क नलाग्ने जस्ता धेरै सुविधा पाए। यी सुविधाबाट नेपालको अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्‍यो। काठमाडौँ उपत्यकामा कलाकौशल, वास्तुकला, मन्दिर एवम् दरबार बनाउने कार्यमा भोट व्यापारबाट प्राप्त आम्दानी उपयोग गरिएको देखिन्छ। साथै नेपाल र नेपालीकै वैभव चीन, जापान, मङ्गोलिया, भुटान तथा बर्मासम्म पुर्‍याउन दीर्घकालीन प्रभाव पार्ने उक्त सन्धि गराउने प्रमुख पात्र काजी भीम मल्ल नै थिए। राष्ट्रका लागि पुरुषार्थ गरी कान्तिपुर प्रवेश गर्नेबित्तिकै उनलाई षड्यन्त्रकारीको आरोपमा प्राणदण्ड दिइयो। यिनै महापुरुषकी श्रीमतीले सती जाँदा दिएको क्रुर वचनकै कारण आजसम्म पनि नेपाललाई सतीको सराप परेको मुलुक भन्ने गरिन्छ। मल्लकालीन राजनीतिमा षड्यन्त्र, स्वार्थ र सत्ताप्राप्तिको लालसाबाट कयौँ योग्य मुलुकलाई गुण लगाएका व्यक्तिले अकालमै ज्यान गुमाउनु परेको दृष्टान्त प्रशस्तै छन्।

दरबारिया षड्यन्त्रकारी राजनीतिकै कारण उपत्यकाको मल्ल राजवंश तथा सेन राजवंश पतन भएका कुरा इतिहासले बोलेको छ। पृथ्वीनारायण शाहको विजयको प्रारम्भमा नै सन् १८५८ मा नुवाकोट विजयपश्चात् पूर्व गोरखाली भारदार जयन्त रानाको जिउँदै छाला काडी हत्या गरियो। यी जयन्त राना द्रव्य शाहलाई गोरखाको राजा बनाउने प्रमुख सहयोगी रानाकै वंशज थिए। नरभूपाल शाहको पालामा नुवाकोट आक्रमणमा हार खानुपरेको मिथ्या दोष यिनै जयन्त रानालाई लाग्यो, महेश्वर पन्त जस्ता प्रवृत्तिको कारणबाट। यो अपमान सहन नसकी उनी कान्तिपुरका राजा जयप्रकाश मल्लको शरण लिन पुगेका थिए। जयन्त राणाको शूरता, वीरता र इमानदारिताको कदर गर्दै नुवाकोटको तैनाथवाला बनाइएका थिए। पृथ्वीनारायण शाह नरभूपालकै छोरा राजा भएपछि पिताको असफल प्रयासलाई सफल बनाउन नुवाकोट कब्जा गर्ने रणनीति लिए। यस कार्यमा उनले जयन्त राणालाई गोरखाकै भारदार भएको स्मरण गराउँदै पुन गोर्खाको राजसेवामा आउन खबर पठाए तर जयन्त रानाले कान्तिपुरका राजाको आफूले नुन खाएको हुनाले उक्त नुनको सोझो गर्ने जवाफ फर्काएका थिए। यसकारण उनको हत्या गरियो र उनका छोरा शंखमणि रानाले पनि प्राणदण्ड पाए। यी जयन्त रानाको योगदान स्मरण गर्ने कसैलाई फुर्सद भएन। राज्य एकीकरणमा पृथ्वीनारायण शाहको योगदान आफ्नै ठाउँमा छ, स्तुत्य पनि होला। तर, जयन्त राना काण्डले उनको उच्चता इतिहासले बीसबाट १९ मा झारेको छ।

पृथ्वीनारायण शाहको मृत्युपश्चात् नेपाल दरबारमा षड्यन्त्रकारी राजनीति मौलाउँदा अनेकौं योग्य र मुलुकलाई उल्लेख्य योगदान पुर्‍याउने राष्ट्रसेवामा समर्पित सारथिहरूले मृत्युदण्ड पाएका धेरै दृष्टान्त छन्। प्रतापसिंह शाह र बहादुर शाहको बीच उचित मेलमिलाप हुन सकेन। बहादुर शाह र राजमाता बीच क्षणिक समय सौहार्द र प्रेमपूर्ण सम्बन्ध देखियो तर दीर्घकालसम्म उक्त सम्बन्ध पूर्ववत् रहन सकेन। बहादुर शाहले सत्ता हत्याएपछि राजेन्द्रलक्ष्मी र सर्वजित रानाबीच अनुचित सम्बन्धको आरोप लगाई हनुमान ढोकामै सर्वजित रानालाई काट्न लगाए। सर्वजित रानाउपर लागेको आरोप मिथ्या थियो भन्ने भनाइ पनि छ तर त्यही बातबाट राजमातालाई किन उन्मुक्ति दिइयो त भन्ने प्रश्नको उचित जवाफ गोर्खाका पुराना भारदार रानाउपर अन्याय भएको दोस्रो ऐतिहासिक घटना थियो। वास्तवमा गोरुको लडाई बाच्छाको मिचाइमा परेका थिए सक्षम गोर्खाली भारदार सर्वजित राना।

गोरखाको विजय अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा पाँडे भारदार उपल्लो श्रेणीमा पर्दछन्। पृथ्वीनारायण शाहका विश्वासपात्र मूलकाजी कालु पाँडेले कीर्तिपुरकै मैदानमा परलोक सुधारेका थिए। यिनै गोर्खाली भारदारका छोरा थिए वंशराज पाण्डे। पृथ्वीनारायण शाहको मरवट नीतिअनुसार संरक्षण गरिएका वंशराज १८ वर्षमा नै बाबुको बिँडो थाम्दै काजी भए। उनले पृथ्वीनारायण शाहको विजय अभियानमा पहिलो पंक्तिमा रही विभिन्न युद्धमोर्चा सम्हालेका थिए। काठमाडौँ उपत्यका, अङ्ग्रेज विरुद्धको सिन्धुली युद्ध तथा चौबिसीतिरको युद्धको नेतृत्वसमेत उनैले गरेका थिए। पृथ्वीनारायण शाहका विश्वासी वंशराज बहादुर शाहका पनि प्रिय पात्र थिए। बहादुर शाहसँग सुमधुर सम्बन्ध भएकै कारण सन् १७८५ मा ४६ वर्षकै उमेरमा राजेन्द्रलक्ष्मीद्वारा उनी काटिए। यस प्रकार दूषित राजनीतिका कारण राष्ट्रप्रेमी र मुलुकलाई गुण लगाएका वंशराजको मृत्युदण्ड पनि सतीकै सरापको एक संस्करण हुन पुग्यो।

पृथ्वीनारायण शाहजस्ता योग्य पिताकै मार्ग अनुसरण गरे पनि कान्छो छोरा भएका कारण राजा हुन नपाएका राजकुमार बहादुर शाह एकीकरण अभियानमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका ऐतिहासिक पात्र हुन्। दरबारियाको षड्यन्त्रको चक्र र प्रतापसिंह शाहमा राजोचित गुण नहुँदा बहादुर शाहउपर वज्रपात पर्न गयो। उनी मुग्लान भाँसिन बाध्य भए। प्रतापसिंहको मृत्युपछि नेपाल आएर केही समयसम्म नेपालको शासनको केन्द्रबिन्दुमा रहेका बहादुर शाह पुनः राजेन्द्रलक्ष्मीको कोपभाजनमा को सिकार बन्न पुगे। उनले पुनः बेतिया प्रवासित हुनुपरेको थियो। राजेन्द्रलक्ष्मीको मृत्युपश्चात् काकतालीले नायब हुन पुगेका बहादुर शाहले एकीकरण अभियानलाई निरन्तरता दिँदा पश्चिम सतलज र पूर्वमा टिस्टासम्म नेपालको सीमा विस्तार हुन पुग्यो। उनले आश्रित राज्य उपर लिएको नीतिकै कारण बाइसी चौबिसी राज्यहरूमाथिको विजय दिगो हुन गयो। पश्चिम विजय अभियानमा नै नेपाली फौज जुट्नुपरेको संवेदनशील घडीमा भोटसँग युद्ध गर्ने उनको नीति प्रत्युत्पादक साबित बन्न गयो। अन्ततः यही युद्ध नै उनको परलोक गमनको तत्कालीन कारण बन्नपुग्यो। रणबहादुर शाहमा पनि राजकीय गुणहरूको सर्वथा अभाव थियो। यसैकारण उनले अरुको कुरा सुने। हिजो आफ्ना मातापितासँगको सम्बन्धको इतिहासबाट झस्की काकासँग उनी चिडिएका थिए। आफ्नो धावन मार्गको अवरोध सम्झी कैद गरी आत्महत्या गर्न बाध्य गराए। नेपालको एकीकरणमा यत्रो ठूलो भगीरथ प्रयत्न गरेका बहादुर शाह दण्डित भए र अकालमा मारिए। दरबारियाको षड्यन्त्र या सर्वजित रानाकै आत्माको श्राप जेहोस् उनी कहिल्यै पुरस्कृत वा सम्मानित भएनन्।

नेपालको एकीकरण अभियानका एक सशक्त हस्ती दामोदर पाँडेलाई पनि सतीकै सराप लाग्यो। काजी कालु पाँडेका छोरा दामोदर पाँडेले सन् १७९४ देखि १८०४ सम्म नेपालको शासनको केन्द्रबिन्दुमा रहेर विभिन्न दायित्व निर्वाह गरे। नेपाल भोट चीन युद्धमा उनको बहादुरी, सुझबुझ, कूटनीति र कौशल प्रशंसनीय रहेको छ। यसको अलावा नेपालको विजय अभियानको क्रममा भएका युद्धका विभिन्न मोर्चाको नेतृत्व उनैले गरेका थिए। कान्तिवतीको प्रेमका कारण रणबहादुर शाहले छोरा गीर्वाणलाई राजा बनाई आफू स्वामी महाराज बनी गरेका अवाञ्छित कार्यको सूची पनि लामै बन्दछ। यिनै बालक राजा गीर्वाणयुद्धको राज्यकालमा १७९९ देखि १८०४ सम्म मूलकाजी भएका दामोदर पाँडे रणबहादुर शाह र उनका मतियार भीमसेन थापासहितको कोपभाजनको सिकार हुन पुगे।

राजा नायबको निर्देशनमा राजकाज सम्हालेको र स्वामी महाराजको आदेश पालना नगरेको बात उनीमाथि लाग्यो। बनारसको निर्वासनबाट काठमाडौँ फर्केपछि स्वामी महाराजको कोपभाजनमा दामोदर पाँडे पनि परे। काजी दामोदरसहित उनका दुई छोरा रणकेशर र गजकेशर काटिए भने अन्य दुई छोरा करवीर र रणजंग रातारात भागी मुग्लान पसे। यस प्रकार मुलुकलाई ठूलो गुण लगाएका दामोदर पाँडेले पनि षड्यन्त्रकारी राजनीतिको चपेटामा पर्नुपर्यो। उनलाई कीर्तिमानको श्राप पनि लागेको हो किरु नेपालको इतिहासमा मुख्तियार भीमसेन थापा, राम्रा नराम्रा दुवै कार्यबाट विशेष चर्चित एक ऐतिहासिक पात्र हुन्। भीमसेन थापा नेपालको राजनीतिमा प्रभावशाली बनेको समयमा मुलुक विभिन्न दिशामा कोल्टे फेरेको उदाहरण छ।

नेपालको विजय अभियानलाई निरन्तरता दिने कार्य भीमसेन थापाले गरेका थिए भने उनकै मुख्तियारी कालमा नेपालको विजय अभियानको अन्त्य पनि भएको थियो। नेपाली सैनिकको आधुनिकीकरण गराउने, विभिन्न विकासका पूर्वाधार सिर्जना गर्ने, धरहरा तथा सुनधारा बनाउने, बागमती र टेकुमा पुल बनाउने, सतीप्रथालाई बन्देज लगाउने, नेवारी समाजको रीतिरिवाजलाई परिमार्जन गर्ने प्रशासन व्यवस्थालाई सुदृढीकरण गर्ने जस्ता कार्यको श्रेय उनै भीमसेन थापालाई जान्छ। अङ्ग्रेजविरुद्ध भारतीय राज्यलाई एकजुट बनाउने उनको प्रयास पनि प्रशंसनीय नै थियो। उनले भोट चीन बीचको परम्परागत सम्बन्धलाई विशेष महत्व दिएका थिए भने उनैको शासनकालमा नेपालमा नेपाल अङ्ग्रेज युद्ध भई नेपालले कुल भूभागको एकतिहाइ गुमाउन बाध्य हुनु परेको थियो । सन् १८१६ को सुगौली सन्धिले नेपाल तल परेको थियो। स्वामी महाराजलाई नेपालको राजनीतिमा स्थापित गर्न उनकै सल्लाहमा दामोदर पाँडे जस्ता धेरै भारदार मारिए । यसैगरी रणबहादुरको हत्यापश्चात् आफ्ना विरोधीलाई स्वतन्त्र पार्ने कार्य पनि भीमसेन थापाले गरे। विधिको विडम्बना त्यही षड्यन्त्रकारी राजनीतिमा परी कालान्तरमा उनले पनि सेरिनुपर्यो।

उनका केही नराम्रा कार्य भए तापनि मुलुकलाई गुण लगाउने धेरै काम पनि उनीबाट भएका थिए। हुन त उनी पनि आफूले खनेको खाडलमा आफै परे भन्ने भनाइ पनि छ। राजपरिवारकै सत्ता र शक्तिको स्वार्थका कारण मृत्युवरण गर्नेमा माथवरसिंह थापा पनि एक राष्ट्रवादी प्रधानमन्त्री हुन्। विधिवत रूपमा नेपालको पहिलो प्रधानमन्त्री पद पाउने माथवरसिंह थापा भीमसेन थापाकै भतिजा थिए। भीमसेन थापाउपर दमनचक्र चल्दा भीमसेनका धेरै स्वजन तथा प्रिय पात्रहरूले समेत दण्डित हुनुपरेको थियो। माथवरसिंह थापा भीमसेन थापाको शासनकालमा ठूलै हैसियतका प्रभावशाली भारदार भएकाले राजपरिवारको कोपभाजनबाट बच्न सिमला पुग्नुपर्यो। राजा राजेन्द्रकी कान्छी महारानी लक्ष्मीदेवीको हातमा सत्ता आएपछि आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने कूटिल चालमा थापाहरू नै सहयोगी हुने निष्कर्ष निकाली माथवरसिंहलाई नेपाल बोलाइन्। नेपाल आउने बित्तिकै भीमसेन थापालाई फसाउने तथा दण्ड दिई आफू प्रधानमन्त्री बन्न पुगे। अङ्ग्रेजसँग सम्बन्ध सुधार गरी राष्ट्रिय स्वार्थ रक्षा गर्नुपर्छ भन्ने मान्यता राख्ने माथवरको बेलायत जाने कार्यक्रम नेपाल स्थित आवासीय दूत हड्नसनकै कारण भीमसेन थापाको शासनकालमा पूरा हुन सकेको थिएन।

भीमसेन थापाले उठान गरेका कार्यलाई निरन्तरता दिई अस्थिर राजनीतिको अन्त्य गर्न माथवरसिंह थापा नेपालको राजनीतिमा पुगेका थिए। सैन्य बललाई सशक्त बनाउने उनको योजना थियो। तसर्थ सन् १७७७ पश्चात् कालगतिले मर्ने आफू पहिलो व्यक्ति हुने तथ्यमा उनी विश्वस्त थिए। राजपरम्परा र मान्यताका हिमायती उनले कलाबहादुर उपाधि धारण गरेर पूर्वाधिकारीभन्दा आफू पृथक् भएको देखाए। तर, सुरेन्द्रको स्थानमा रणेन्द्रलाई राजा बनाउने राज्यलक्ष्मीको चाहनाको मतियार भएनन्, उल्टो त्यस कार्यको विरोध नै गरे। राज्यलक्ष्मीले आफ्नो शक्ति प्राप्ति यात्राको धावनमार्गमा माथवर अवरोध ठानी जोइटिङ्ग्रे राजेन्द्रलाई बसमा पारी जंगबहादुरलाई साम दाम दण्ड भेद र अन्य स्त्रीहतियार प्रयोग गरी आफू अनुकूल बनाइन्। सत्ताप्राप्तिको होडमा र माथवरबाट विभिन्न प्रसङ्गमा आफूलाई अवमूल्यन गरेको ठानी बदला लिन माथवरसिंहलाई गोली ठोके। आफ्ना मामालाई गोली हानी हत्या गरी आफूलाई कृष्ण भगवानकै अवतार भएको भान पनि पारे। माथवरसिंह थापाका केही व्यक्तिगत कमजोरी अवश्य थिए। तर, राजसंस्था र राष्ट्रप्रति समर्पित पनि थिए। राजनैतिक अस्थिरताबाट स्थिरता दिन उनी प्रतिबद्ध थिए भने मुलुकलाई सैनिक दृष्टिले सक्षम बनाई भारतीय रजौटासँग समन्वय गरी नेपाललाई अङ्ग्रेजको अनावश्यक प्रभाव पर्न नदिने रणनीति अख्तियार गर्दै थिए। तर, दरबारिया राजनीतिका कारण उनले पनि अकालमा ज्यान गुमाउनुपर्यो।

माथवरसिंह थापापछि राजपरिवारकै कारणबाट कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता काण्डमा धेरै राष्ट्रवादी भाइभारदारहरू मारिए। यी सबै पर्वलाई विजयउत्सवका रुपमा लिएका जंगबहादुरले १०४ वर्षको जहानिया शासन कायम गरेकै छन्। राणाकालमा पनि ३८ साल, ४२ साल, मकै पर्व, लाइब्रेरी पर्व, सिजापति गुरुङ जस्ता अनेकौं पर्वहरूमा धेरै देशभक्त नागरिकको ज्यान गयो। अनेकौँ सहिद भए। यी देशभक्तहरूको योगदानका विषयमा सोधखोज हुन अपेक्षित छ। यस लेखमा दरबारिया षड्यन्त्रका कारण ज्यान गुमाएका केही व्यक्तिहरूको मात्र चर्चा उदाहरणका रूपमा गरिएको छ। यीबाहेक राष्ट्रले अपमान गरी दण्डित भएका देशभक्तहरूको योगदानमा अनुसन्धान हुनु अपेक्षित छ। यी चर्चित व्यक्तिहरूलाई भीमसेन थापाबाहेक अरु कसैको राष्ट्रवाद हालसम्म किन कदर भएन भन्ने अहम् सवालको जवाफ खोज्ने बेला पनि आएको छ।