सम्माननीय क प्रचण्ड नमस्कार !
रुकुम पुर्वमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा तपाईले डा.बाबुराम भट्टराईका विषयमा दिनुभएको अभिव्यक्ति सुने पछि प्रतिकृया नदिई रहन मनले मानेन त्यसको प्रतिकृया स्वरूप यो पत्र लेखिरहेको तपाईले पढी दिनुहुनेमा आशावादी छु ।
सम्माननीय क प्रचण्ड,
यहाँले रुकुमको कार्यक्रममा डा.बाबुराम भट्टराईलाई “बुद्धि नभएको” व्यक्ति भनेर टिप्पणी गर्नुभएको छ । तपाईंको यो टिप्पणीले म जस्ता विचारशील नागरिकलाई मात्र होइन, जनयुद्धका सपनासँग आशावादी लाखौं जनतालाई समेत गहिरो चोट पुर्याएको छ । दोहोराएर भनिरहनु पर्दैन डा.भट्टराई लामो समयसम्म तपाईंकोे राजनीतिक सहयात्री मात्र होइनन्, नेपाली माओवादी आन्दोलनका एक प्रमुख वास्तुविद् पनि हुन् । उनी माथि यति निच खालको व्यक्तिगत आक्षेप लगाउनु तपाईंको वैचारिक पतन होइन र अध्यक्ष प्रचण्ड ज्यू ?
यो तपाईंको वैचारिक दरिद्रताको पनि स्पष्ट संकेत हो। एउटा ऐतिहासिक आन्दोलनमा प्रमुख भूमिकामा रहेका नेताले यस्तो अलोकतान्त्रिक र अमर्यादित भाषा प्रयोग गर्नु दु:खद मात्र होइन, लाजमर्दो पनि हो। तपाईंको भनाइबाट मलाई लाग्छ कि तपाईंले अब आलोचना सहन सक्ने क्षमता र संस्कार गुमाइ सक्नुभएको छ । तपाईंका विगतका बोली र व्यवहारहरू विश्लेषण गर्दा यस्तै देखिन्छ ।
तपाईंको विचारसँग जसले असहमति राख्छ, तपाईं ती सबैलाई गद्दार, प्रतिक्रियावादी भन्ने गर्नुहुन्थ्यो । अब ‘बुद्धि नभएको’ भन्न थाल्नुभएको छ । अध्यक्ष प्रचण्ड तपाईंलाई लाग्दो हो ठुलै कुरा भने तर ख्याल गर्नुस् यस्ता शब्दहरूले तपाईंले बनाएका मूल्यहरू र तपाईं आफैले बोकेका क्रान्तिकारी सिद्धान्तहरूप्रति नै प्रहार गरिरहेका छन । हिजो तपाईंहरूले जनताका लागि लडेको बताउँदै राष्ट्रव्यापी आन्दोलन चलाउनुभयो । त्यहीँ आन्दोलनका प्रमुख नायकहरू मध्ये एक बाबुराम थिए ।
आज उहाँमाथि बुद्धिको खोट लगाउनु भनेको इतिहास माथि थुक्नु हो। यदि बाबुरामसँग बुद्धि नभएको भए, तपाईंहरू मिलेर माओवादी आन्दोलनलाई त्यो स्तरमा लैजान सक्नुहुन्थ्यो त ? शान्ति प्रक्रिया, संविधान निर्माण, र राजनीतिक रुपान्तरणमा बाबुरामले पुर्याएको योगदानलाई एक झट्कामा नकार्न खोज्नु, तपाईंको अहंकार र असहिष्णुताको प्रमाण होईन र ? मूल्य र विचार विहीन राजनीति जनताप्रति धोका हो र मेरो बिचारमा तपाईंको पछिल्लो प्रवृत्तिले देखाएको छ कि तपाईं अहिले त्यही बाटोतर्फ तीब्र गतिमा उन्मुख हुनुभएको छ। तपाईंमा वैचारिक अनुशासन, विचारमा गहिरो प्रतिबद्धता र सहकर्मीहरूप्रति सम्मानको भावना अब हराउँदै गएको देखिन्छ । तपाईं जसरी इतिहासको पाना पल्टाउँदै हुनुहुन्छ, त्यो गम्भीर चिन्ताको विषय हो।
अझ त्यो कुरा गैर–माओवादी नारायणकाजी श्रेष्ठलाई साथमा राखेर भन्नु झन् विडम्बनापूर्ण देखिन्छ। नारायणकाजी स्वयं प्रचण्डको विचारधारात्मक र राजनीतिक यात्रामा पटक–पटक संशयको पात्र बनेका व्यक्ति होईनन् र ? उनी आफ्नो अडानमा कति टिक्छन दृष्टिकोण कस्तो छ तपाईंलाई थाहा छैन र ? यस्तो व्यक्तिलाई साथमा राखेर बाबूराम जस्तो एक बुद्धिजीवी र बैचारिक, नीतिगत योगदान दिन सक्ने नेतालाई होच्याउनु तपाईंको वैचारिक दिवालियापन बाहेक के हुन सक्छ र ? अनि सँगै बसेर हास्ने पम्फा भुसाल, अग्नि सापकोटा र नन्द बहादुर पुन तपाईंहरूलाई अहिले कम्युनिष्ट भन्न कसरी सकिन्छ ? के तपार्इंहरुको आचरणमा कम्युनिष्ट आचरण छ ? यति मात्र होईन लाकुरे भन्ज्याङ्खको टेरेशाको चर्पिमा लडेर घर मै लडेको हो भनेर झुक्याउने प्रचण्डको सचिवालयलाई के भन्ने ? सारमा भन्दा प्रचण्डको बाबुराम प्रतिको अभिव्यक्ति प्रचण्डमा आएको आत्मविश्वासको कमि, वैचारिक असहिष्णुता र व्यक्तिगत इष्र्याको झल्को देखिन्छ । गलत गरेमा नेताहरूले आलोचना गर्नुपर्छ तर त्यो तथ्य, सन्दर्भ र नैतिक धरातलमा उभिएर गर्नुपर्दछ नकि व्यक्तिगत खिसीट्युरीको स्तरमा ।
यो लेखमार्फत अध्यक्ष प्रचण्डलाई आग्रह गर्दछु , तपाईंको बोली, व्यवहार र वैचारिक स्तरलाई फेरि आत्मसमिक्षा गर्नुहोस्। आलोचना गर्नु गलत होइन, तर त्यसका लागि सम्मानजनक शब्द र उचित तर्क हुनुपर्दछ । व्यक्तिगत आक्षेप, अपमानजनक शब्द र अशैद्धान्तिक र अवैचारिक आलोचनाले जसको आलोचना गर्नुहुन्छ उसको होइन तपाईंकै गरिमा घटाउँछ । इतिहासले सबैको मूल्याङ्कन गर्छ। त्यो मुल्याङकन तपाईंको पनि हुन्छ ,बाबुराम भट्टराई प्रति पछिल्लो पटक तपाईंले दिनुभएको अभिव्यक्तिले तपाईंकै विगतको योगदान माथि कालो दाग लगाएको छ। त्यसैले, अझै पनि समय छ आफ्नो बोली र व्यवहार सुधार गर्नुस । आशा छ, तपाईंले यो पत्रलाई आलोचना होइन, आत्ममूल्यांकनको निम्ति सुझाबको रूपमा लिनुहुने छ ।


















