कोटिहोमबारे शीघ्रताका साथ स्मारिका प्रकाशित हुने

अहिले श्री गण्डकी कोटिहोम भव्य रूपमा आयोजना भइरहेको छ । श्री गण्डकी कोटिहोम बारेमा देशभरका हजारौँ मिडिया मध्ये जम्मा एउटा मात्र मासिक पत्रिकाले विशेषाङ्क प्रकाशित गरेको पाइयो । मासिक पत्रिकाको रूपमा विगत १६ वर्ष ११ महिना अगाडिदेखि निरन्तर प्रकाशित हुँदै आएको मासिक पत्रिका अग्निचक्रले लगातार रुपमा ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को बारेमा ४ पटक विशेषाङ्क प्रकाशित गरेको छ ।

अग्निचक्रले २०८२ जेठको अङ्कलाई श्री गण्डकी कोटिहोम, बिरौटा पोखरा, यज्ञशिरोमणि विशेषाङ्क जेठ २०८२ नाम दिएर हालै प्रकाशित गरेको छ। यस अगाडि २०८२ वैशाखको अङ्कलाई कोटिहोम महायज्ञ विशेषाङ्क २०८२ नाम दिएर प्रकाशित गरेको थियो। त्योभन्दा अगाडि २०८१ चैतको अङ्कलाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको नाम दिएर प्रकाशित गरेको थियो भने त्यस अगाडि २०८१ फागुनको अङ्कलाई श्री गण्डकी कोटिहोम पोखरा विशेषाङ्क रुपमा प्रकाशित गरेको थियो।

अग्निचक्र राष्ट्रिय मासिकको संस्थापक तथा प्रकाशक/सम्पादक लक्ष्मीनारायण भट्टराई हुनुहुन्छ। जो एक आध्यात्मिक व्यक्तित्वका साथै सात्विक जीवन जिउने भेजिटेरियन जेन्टलम्यान हुनुहुन्छ। ऐतिहासिक श्री पशुपति कोटिहोम र श्री गण्डकी कोटिहोमलाई नजिकबाट नियालेका तथा विशेषाङ्क प्रकाशित गरेका भट्टराईले नै कोटिहोम सम्बन्धी स्मारिकाको सम्पादन गर्ने भएका छन् । पशुपति कोटिहोममा दान गर्ने दानवीर दाताहरूको नामावली र श्री गण्डकी कोटिहोममा दान गर्ने दानवीर दाताहरू समेतको नामावली अब चाँडै प्रकाशित हुने स्मारिकामा समेटिने भएको छ।

पशुपति कोटिहोम र गण्डकी कोटिहोमका महायज्ञ संकल्पकर्ता आदरणीय यज्ञशिरोमणि बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजको “मार्ग-निर्देशन”मा एवं पत्रकार लक्ष्मीनारायण भट्टराईको “सम्पादन”मा ऐतिहासिक श्री पशुपति कोटिहोम २०८१ र ऐतिहासिक श्री गण्डकी कोटिहोम २०८२ बारे सम्पूर्ण विषयवस्तु समेटिएको “संयुक्त स्मारिका”को रूपमा निकट भविष्यमा नै “यज्ञशिरोमणि : कोटिहोम स्मारिका”प्रकाशन हुन लागेकाले यथाशीघ्र लेख रचना उपलब्ध गराइदिनुहुन विद्वान् वर्गलाई हार्दिक अनुरोध गर्दछौं भनेर यज्ञशिरोमणि : कोटिहोम स्मारिका प्रकाशन सम्बन्धी सूचना अग्निचक्र राष्ट्रिय मासिकले छापेको छ । लेख/रचना पठाउने ठेगाना: agnichakramasik@gmail.com र kotihomsmarika@gmail.com तथा लक्ष्मीनारायण भट्टराई मोबाइल नम्बर/WhatsApp ९८५१०४०३३० रहेको छ ।

यो स्मारिका सम्भवत: नेपालको इतिहासमा कोटिहोम सम्बन्धी प्रकाशित हुने पहिलो स्मारिका हुनेछ। अग्निचक्र राष्ट्रिय मासिकले श्री गण्डकी कोटिहोम बारेमा चारपटक लगातार विशेषाङ्क प्रकाशित गर्दा समावेश भएका प्रमुख विषयवस्तुहरू र ती विशेषाङ्कमा समावेश हुन नपाएका लेख/रचनाहरूका साथै नयाँ नयाँ विषयवस्तु समेटेर तथा देशभरका साधु-सन्त, महन्त एवं बुद्धिजीवी, समाजसेवी र सबै क्षेत्रका प्रमुख व्यक्तित्वहरूको विचार तथा शुभकामना यज्ञशिरोमणि : कोटिहोम स्मारिकामा समावेश गरिने कुरा पत्रकार एल.एन. भट्टराईले श्री गण्डकी कोटिहोम परिसरमा आज बताउनु भएको थियो । कोटिहोम सम्बन्धी स्मारिकाका लागि हाम्रो अग्रिम शुभकामना । जय होस् !!