विजय हितानद्वारा लिखित “मलाई आर्यघाट लगेर नजलाउनु’ काव्य संग्रहको लोकार्पण

विजय हितानद्वारा लिखित ‘मलाई आर्यघाट लगेर नजलाउनु’ काव्य संग्रहको लोकार्पण गरिएको छ ।

नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा ‘दशौं वातावरण साहित्य गोष्ठी’ काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा उक्त ‘मलाई आर्यघाट लगेर नजलाउनु’ काब्य संग्रह लोकार्पण गरिएको हो ।

वातावरण र साहित्यको अन्तरसम्बन्ध उजागर गर्दै आयोजना गरिएको यस विशेष कार्यक्रममा वातावरणीय चेतनालाई समकालीन साहित्यिक विमर्शको मूल धारमा ल्याउनको लागि उक्त कार्यक्रम थियो ।

वातावरण साहित्य गोष्ठीमा कवि तथा वातावरणविद् विजय हितानद्वारा लिखित पर्या कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिएको थियो। वातावरणीय चेतना, मानव अस्तित्व र प्रकृतिको सजीव सम्बन्धबारे गहिरो अनुभूति प्रस्तुत गर्ने उक्त काव्यसंग्रह नेपाली साहित्यमा एक सशक्त हस्तक्षेपको रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदीले काव्यसंग्रहको प्रशंसा गर्दै कविता केवल भावनाको अभिव्यक्तिमात्र नभएर, चेतनाको हस्तान्तरण पनि रहेको बताउनु भयो । उहाँले भने,“विजय हितानको काव्यभित्र हामीले वातावरणीय मुद्दाप्रति आत्मीयता र संलग्नताको आह्वान देख्न सक्छौं।”

की–नोट स्पिकरका रूपमा उपस्थित डा. गोविन्दराज भट्टराईले भन्नुभयो, “अब वातावरणीय बहस केवल वैज्ञानिक परिधिभित्र सीमित छैन, साहित्यले पनि त्यसलाई धारिलो ढंगले उठाउन थालेको छ। विजय हितान जस्ता सर्जकहरू यस यात्राका अगुवा हुन्।”

कार्यक्रममा वक्ताका रूपमा डा.गीता त्रिपाठी र डा.अशोक थापाले कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ र पर्या निबन्ध संग्रहको समीक्षात्मक मूल्यांकन प्रस्तुत गरेका थिए। डा.त्रिपाठीले हितानका कविताहरूमा देखिएको संवेदना, प्रतीक र प्रकृतिप्रतिको प्रतिबद्धता उल्लेखनीय भएको बताउनु भयो। उहाँले भन्नु भयो “यी कविताहरू केवल भावनामा बहिने रचना होइनन्, तिनीहरू चेतनाको झट्का हुन् । जसले हामीलाई भोगिरहेका वातावरणीय संकटप्रति उत्तरदायी बनाउँछ।”

त्यसैगरी डा.अशोक थापाले पर्या निबन्धहरूको संरचना, तर्क र अभिव्यक्तिको शैलीको प्रशंसा गर्दै यस्ता निबन्धहरूले भविष्यको नीति निर्माणमा समेत योगदान पुर्‍याउने सम्भावना रहेको बताउनु भयो । उहाँका अनुसार “यस्ता निबन्धहरू केवल प्रतियोगिताका लागि लेखिएका होइनन्, तिनीहरू नयाँ पुस्तामा वातावरणप्रति जिम्मेवार चेतनाको बीजारोपण हुन्।”

यसै अवसरमा देशभरबाट प्राप्त १०८ निबन्धहरूमध्ये उत्कृष्ट ३२ निबन्धहरूको संग्रह विमोचित गरिएको थियो। भवानी खतिवडा प्रथम भएकी छन् प्रलयको आँधीबेहरी’ शीर्षकको निबन्धका लागि खतिवडाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नु भयो भने त्यसैगरी ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन’ शीर्षकमा निबन्ध प्रस्तुत गरेका हरिबोल काफ्ले दोस्रो हुँदै नगद ४० हजार रुपैयाँसहित सम्मानित हुनु भयो भने तेस्रो स्थानमा, ‘विकासः प्राप्तिको श्रृङ्खला र पश्चातापको पुनर्बोध’ शीर्षकको निबन्धमार्फत गोविन्द गोपाल खतिवडाले नगद ३० हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत हुनु भएको थियो । साथै, प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निबन्धकारलाई पुरस्कार प्रदान गरिनुका साथै बाँकी २९ प्रतियोगीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमको सहजिकरण तथा संयोजन कवि विजय हितानले गर्नु भएको थियो भने गोष्ठीको समापन गर्दै उहाँले, “आज हामी वातावरणीय संकटको डिलमा छौं। यो संकटविरुद्धको संघर्ष केवल वैज्ञानिक र राजनीतिक जिम्मेवारी होइन, साहित्यले पनि समवेत स्वरमा त्यसमा उत्रनुपर्छ। मलाई लाग्छ, लेखन अब थप गम्भीर र प्रतिबद्ध हुनुपर्छ।”

गोष्ठीमा विभिन्न क्षेत्रका साहित्यकार, वातावरणविद्, विद्यार्थी, पत्रकार र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले वातावरण र साहित्यबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

दशौं संस्करणसम्म आइपुगेको वातावरण साहित्य गोष्ठीले नेपाली साहित्यमा वातावरणीय चेतनाको स्थायीत्व, प्रभावकारिता र साहित्यिक हस्तक्षेपको सशक्त सन्देश दिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा समालोचक डा. गीता त्रिपाठी र डा. अशोक थापाले पुरस्कृत तथा अन्य उत्कृष्ट निबन्धहरूको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नु भएको थियो ।

उनीहरूले वातावरणीय मुद्दालाई केन्द्रमा राखेर सिर्जना गरिएका यस्ता साहित्यिक कृतिहरूले समाजमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

दशौं संस्करणसम्म आइपुगेको वातावरण साहित्य गोष्ठीले साहित्यिक सौन्दर्य मात्र नभई वातावरणीय चिन्तन र सामाजिक सरोकारलाई समेटेर जनमानसमा सकारात्मक प्रभाव पार्न सफल भएको सन्देश दिएको सहभागीहरूले गोष्ठिमा बताएका छन्।


कवि तथा वातावरणविद् विजय हितानको संग्रहमा जलवायु परिवर्तन, प्राकृतिक विपद्, मानव स्वार्थ र प्रकृतिमाथिको दोहनप्रति गहिरो प्रश्न खडा गर्नु भएको छ भने उहाँले वातावरण विज्ञानमा स्नातक गरेका गर्नु भएको छ र झन्डै दुई दशकदेखि वातावरणीय संरक्षण र जनचेतनाको क्षेत्रमा देश तथा विदेशमा सक्रिय भूमिका खेल्दै आउनु भएको छ ।