ओइ हिँड न कतै घुम्न जाऔँ
जम्मा पाँच/पाँच हजार त हो नि एउटाको भागमा
यति भन्दै गर्दा मेरो हात चार वर्ष पहिले किनेको
झोलाको एकापट्टिको कुनामा पुग्छ, जहाँ सानो खल्ती छ
खल्तीमा हात हाल्नुभन्दा पहिले नै बाहिरबाट धागोले हेरिरहेको थियो, मैले नि हेरेँ एकोहोरो संवाद गरे
यो मेरो दैनिकी हो, एकैछिन ल भनेर अलि वर आए,
खल्तीमा हेरेँ
पाँच/पाँचका राता नोट त्यो पनि कुनैमा नम्बर लेखिएको
टुप्पो नै थिएन,
झल्याँस्स सम्झिएँ जम्मा पाँच/पाँच हजार त
हो नि हातको च्यातिएका पाँचका नोट हेर्छु
लामो श्वास फेर्छु
६ महिनादेखि तिर्न नसकेको चर्को भाडा सम्झन्छु
पाँच हजार त मेरो कोठा भाडा नै छ
खित्का छोडेर हाँस्न मन लाग्छ
तर, फेरि वास्तविकतामा फर्किएँ ।
पाँच हजार तिर्न नसक्ने म त्यही कोठामा
बसेर पाँच लाख कमाउने सपना दिनरात देख्दै छु
घुम्ने, रमाउने यी सबलाई मेरो
मस्तिष्कले कारावासमा राखेको छ
त्यो पनि आजीवन
यी तमाम अभावले डेरा पर सारिदियो
हुन्थ्यो लाग्छ, झन् बलियो गरेर लालपुर्जा सहित बस्छ ।
अरे !
साथी धन्यवाद तिमीलाई हेर त तिमीले जम्मा पाँच हजार त
हो नि भनेको शब्दले मैले एकटक
जिन्दगी सरसर्ती नियालेँ
थाहा छैन यी अभावको मरुभूमिमा जल्दै
गरेको रहरले कहिले नहर पाउँछ ?
त्यही नि म अभावको घाउमा जसोतसो
मुस्कानको सञ्जीवनी छरिरहने छु ।
मिनु
















