संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनयनअघि दलहरूले उम्मेदवारको विषयमा छलफल गरेका थिए । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।
















