विपद् न्यूनीकरणका लागि मौसम विभागको २४ घण्टे सेवा

आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि विस्तृत आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ। विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठका अनुसार मनसुन अवधिभर मौसम र बाढी पूर्वानुमान सेवा चौबिसै घण्टा सञ्चालन गरिनेछ। नियमित रूपमा दैनिक दुई पटक मौसम बुलेटिन सार्वजनिक गरिनेछ भने आवश्यक परे तीनदेखि पाँच दिनअगावै विशेष चेतावनी जारी गरिनेछ।

भारी वर्षा, चट्याङ, मेघगर्जनजस्ता जोखिमपूर्ण अवस्थाबारे रङ्गसूचक नक्सामार्फत जानकारी दिइने व्यवस्था गरिएको छ। देशभरका स्वचालित मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा अनलाइनमार्फत सार्वजनिक गरिनेछ। विभागले कोशी, गण्डकी, कर्णाली, बागमतीलगायत प्रमुख नदीमा तीन दिनअघि नै बाढी पूर्वानुमान गर्ने तयारी गरेको छ भने साना नदीमा आकस्मिक बाढीको सूचना केही घण्टा अगावै दिने व्यवस्था मिलाइएको छ। ठूलो बाढीको सम्भावना भए पाँच दिनअगावै चेतावनी जारी गरिनेछ। पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकम र एनसेलमार्फत जोखिम क्षेत्रका नागरिकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरिनेछ।

साथै ११५५ नम्बरको टोल–फ्री सेवाबाट मौसम र बाढीसम्बन्धी जानकारी २४ घण्टा उपलब्ध हुनेछ।विभागले गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने जनाएको छ।