संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकियो

संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेन । यसकारण निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।

यही १ असारमा प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । २१ फागुन २०८० मा आएको यो विधेयकमा सुशासन समितिले उपसमितिमार्फत सहमति जुटाएको थियो । त्यसपछि विधेयक पास गरेर संसदमा लगिएको थियो ।

मिनी संसद भनिने संसदीय समितिबाट पास भइसकेको विधेयकमा सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राख्ने लगायतका प्रावधान रहेको छ ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । यो प्रावधानको विषयमा मन्त्रिपरिषदको बैठकमा समेत छलफल भएको थियो । यो बेला प्रतिनिधिसभाको बैठक नबस्दा निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।