२०७२ कात्तिक ११ गते राष्ट्रपति बनेपछि सक्रिय राजनीति छाडेकी विद्या भण्डारीले अब पुन : नेकपा एमालेमा रहेर सक्रिय राजनीति गर्ने घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अबरमा असार १४ गते काठमाडौमा आयोजित कार्यक्रममा उनले आफू पुन: एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । उनले भनिन “मैले पार्टीको सदस्यता नवीकरण गरिसकेकी छु ।”
विद्या भण्डारी राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष थिइन्। अब भने उनी अध्यक्ष बन्ने सोच सहित राजनीतिमा फर्किएको चर्चा छ । विद्या भण्डारी राजनीतिमा फर्किए पछि एमाले भित्र र बाहिर त्यले कस्तो असर पार्ला ? भनि अहिले विश्लेषण सुरु भएको छ । यो लेख पनि त्यसमै केन्द्रीत रहने छ ।
विद्या भण्डारीको राजनीतिमा पुनरागमनले सबै भन्दा बढी प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली तरंगित भएका छन । किनकि के.पी ओली अब आउने भदौ २०, २१ र २२ मा हुने विधान महाधिवेशनबाट उमेरहद र दुई कार्यकालको प्रावधान हटाएर पुन आफु नै अध्यक्ष बन्ने सोचमा छन् । उता भण्डारीको सोच पनि आगामी एघारौँ महाधिवेशनमा आफु पार्टी अध्यक्ष बन्ने छ । के पी ओली आफु दोहोरीन चाहाने विद्या आफु आउन चाहने भए पछि यसले एमालेको गुट समिकरणमा नयाँ बदलाव र नयाँ ध्रुवीकरण हुनेछ ।
यस अघि २०५४ सालको छैटौँ महाधिवेशनयता करिब ३ दशक एउटै गुटमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब एकअर्काको आमनेसामने हुने छन् । समभवत यो प्रतिस्पर्धामा विद्या भण्डारीले जित्ने छन किनकि भण्डारी आगामी पार्टी महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए उनले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीमा टिक्न नसकेर बहिर्गमित भएका समूह र व्यक्ति एमालेमा फर्काउने नारा दिने छिन । त्यतीमात्र होईन अहिले के पी ओली नयाँ जंगबहादुर बनेको एमालेमै मन नपराउने ठुलो तप्का छ तर बोल्न सक्दैनन । स्रोत भन्छ पछिल्लो पटक के.पी ओली संगको भेटमा पनि विद्याले आफूलाई आउँदो महाधिवेशनमा सहयोग गर्न भनेपछि के पी ओलीले, ’केका लागि सहयोग गर्नुपर्यो?’भनेर सोधेका थिए त्यस पछि भण्डारीले ’म पार्टीको मुख्य नेतृत्वका लागि तयारीमा लागेको छु त्यसैका लागि सहयोग चाहेकी हु भने पछि केपी ओली रूष्ट भएको बुझिएको छ । यसरी हेर्दा एमाले भित्र सके विद्या भण्डारी अध्यक्ष बन्न नसके नयाँ गुट बन्ने देखिन्छ । यो कुरा ओली निकटहरूले रूचाएका छैनन् । त्यही भएर उनीहरूले भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगर्ने खेलमा छन । काठमाडौं जिल्ला कमिटीले नवीकरणको सिफारिस गरेको धेरै भइसकेको छ, तर केन्द्रले होल्डमा राखिदिएको छ । यद्यपी यो खेल सफल हुने देखिदैन । किनकि भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको र लेबी तिरेको भौचर उनी संग रहेको बुझिएको छ । यो भयो एमाले भित्र पर्ने असर ।
विद्या भण्डारीको पुनरागमनले एमाले भित्रमात्र होईन सिंगो मुलुकको राजनीति शक्ति सन्तुलनलाई पनि असर गर्न सक्छ । किनकी िविद्या भण्डारी एमालेको अध्यक्ष भएमा २०७४ मा जस्तै फेरि वामपन्थी गठबन्धन र कम्युनिस्ट एकताको प्रयास हुनसक्छ । जनमतको विश्लेषण गर्दा वामपन्थी शक्तिहरूबीच एकता भए यो मुलुकको पहिलो शक्ति बन्न सक्छ । नेपालमा कम्युनिष्टको राम्रो मत छ तर फुटले कम्युनिष्ट आन्दोलनलाई घाटा पारेको छ । प्रमुख वाम पार्टीहरूबीच धेरै सैद्धान्तिक मतभेद पनि देखिँदैन । नीतिगत रूपमा उनीहरू उस्तै छन् । फुट केबल शीर्ष नेताहरूको महत्वकांक्षाका कारण भई रहेको छ ।
प्रमुख कम्युनिष्ट पार्टी एमाले, माओवादी र एकिकृत समाजवादी सबैले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै आएका छन् र बहुदलीय प्रतिस्पर्धा मार्फत समाजवादको आधार निर्माण गर्ने बताउँदै आएका छन् । तर व्यवहारमा उनीहरु बीच व्यक्तिवादी अहंकारवाद, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका कारण एक ठाउँमा छैनन् ।
व्यवहारमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधब नेपालप्रति अत्यन्तै अनुदार देखिन्छन । यस्तो अवस्थामा विद्याको नेतृत्वको एमालेले कम्युनिष्ट एकतामा जोड दिए पुन: कम्युनिस्ट एकताको टुटेको कडी जोड्न सक्छ । विद्या मात्र नेपालको कम्युनिष्ट आन्दोलनको एक मात्र साझा व्यक्तित्वको रुपमा देखा पर्न सक्छिन । पहिला राष्ट्रपति भएको व्यक्ति भएकोले उनको कुरा छिमेकी देशले पनि ध्यान दिएर सुन्छन । नेपालमा कम्युनिष्ट एक भएको हेर्न चाहने विदेशी मित्रहरुको पनि विद्यालाई साथ रहन सक्छ । यस्ता अवस्थामा उनको आगमनले सिंगो देशको राजनीति शक्ति सन्तुलनमा असर पार्ने हुन सक्छ । त्यसको असर कांग्रेस र उदाउँदै गरेका अन्य दललाई समेत पर्न सक्छ ।


















