वरिष्ठ पत्रकार बलदेव थापाको दुईवटा पुस्तक सार्वजनिक

वरिष्ठ पत्रकार बलदेव थापाले लेख्नुभएका दुईवटा पुस्तकहरू ‘बा’ को वाम र कुराको सास्ती नाम पुस्तक यही २०८२ जेठ ३१ गते लोकार्पण गरिएको छ । काभ्रेको २८ किलो स्थित निलकण्ठेश्वर धाममा आयोजित कार्यक्रममा दुवै पुस्तक लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण लेखक थापाका नातिनी गंगा बस्नेत र नाती उमंगदेव थापाले गर्नुभएको थियो । थापाद्धारा लिखित ‘बा’ को वाम पुस्तकमा परिचयमा गुण्डु शिर्षकमा लेखक र उहाँका बुवा जन्मी हुर्किएको क्षेत्र भक्तपुरको गुण्डु र त्यसको सेरोफेको इतिहाँस, संस्कृति र सामाजिक अवस्था बारे जानाकारी समेटिएको छ ।

त्यस्तै पुस्तकमा मेरा ‘बा’ कोे समयचक्र शिर्षकमा लेखकका पिता हरीबहादुर थापाको जीवन र उहाँका राजनीतिक तथा सामाजिक गतिविधिहरूको ऐतिहासिक अध्ययन प्रस्तुत गरिएको छ । यसले राणा युगदेखि वर्तमान समयसम्म नेपालमा आएको राजनीतिक परिवर्तन र किसान आन्दोलनहरूलाई समेत उजागर गरेको छ । परिचयका हरफमा पद्यमबहादुर बुढाथोकीमा तत्कालिन समयको किसान आन्दोलन बारेमा प्रकाश पारिएको छ । ‘बा’ को वाम पुस्तकले नेपाली समाजमा पिताको छायाँभित्रको जीवन, उनीहरूको संघर्ष, विचारधारा कथात्मक ढंगमा प्रस्तुत गरिएको छ ।

बलदेब थापाको पुस्तक ‘बा’ को वाम एउटा सशक्त साहित्यिक कृति हो, जसले समसामयिक नेपाली समाज, राजनीति, परिवार र पितृत्वका जटिल सम्बन्धहरूलाई गहिरो भावनात्मक र बुवाको राजनीतिक विचारधारा (बामपन्थी सोच) र त्यसले पारिवारिक जीवनमा ल्याउने प्रभावहरू उल्लेख छ । कथाले बुवाको विगत राजनीतिक सक्रियता, समाजप्रतिको योगदान र पारिवारिक दूरीलाई तुलना गर्छ। यसले वर्ग, राजनीतिक चेतना, पीढीबीचको मतभेद जस्ता विविध विषय समेट्छ। ‘बा’ को वाम नेपाली साहित्यमा एक महत्वपूर्ण योगदान हो। यो केवल कथा होइन – यो सामाजिक टिप्पणी हो, एक पिढीको चिन्तन हो, र पिताको अस्वीकारिएको अस्तित्वप्रति लेखकद्वारा गरिएको सम्मान हो।

त्यस्तै अर्काे पुस्तक कुराको सास्ती व्यङ्ग्यक वितासङ्ग्रह हो । यसमा व्यङ्ग्यात्मक शैलीमा लेखिएका कविता छन् । यस संग्रहमा ३८ वटा व्यंग्यात्मक कविता र २८ वटा मुक्तकहरू समावेश छन्। कवितामा राजनीति र नेताहरुका कृयाकलापको व्यङ्ग्यात्मक शैलीमा भण्डाफोर गरिएको छ । कवितामा तत्कालीन समाज, राजनीति र सांस्कृतिक विसंगतिलाई प्रखर रूपमा प्रस्तुत गरिएको छ ।

यी पुस्तकहरूको प्रकाशन शब्दयात्रा प्रकाशन अक्षरधाम, शब्दसाधक तीर्थ बनेपाले गरेको छ । ‘बा’ को वाम रु २५० मुल्य राखिएको छ । कुराको सास्तीको मुल्य रु १५० राखिएको छ । मुल्य न्योचित छ ।

बलदेब थापाको लेखनशैली सरल, तर गहिरो छ। उनले नेपाली ग्रामीण समाजको बोली, लवज र भावनालाई यथार्थवादी शैलीमा पस्केका छन्। भाषामा अनावश्यक अलंकार वा जटिलता छैन, तर त्यसले गर्ने प्रभाव भने गहिरो छ।