नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएसँगै उनले नवीकरण गरेको भनिएको पार्टी सदस्यता रद्द भएको छ ।
राज्यको सर्वोच्च पद (राष्ट्रपति) बनिसकेको व्यक्तिलाई राजनीतिमा फर्काएर पार्टी कार्यकर्तामा सीमित गर्दा संविधानको मर्म र भावनाको अपमान हुने तर्क गर्दै एमालेले विद्यालाई राजनीतिमा सक्रिय हुनबाट रोकेको हो ।
बुधबार बिहान सार्वजनिक बैठकका निर्णयमा संविधानका धारा उपधाराहरु उद्धृत गर्दै लेखिएको छ, ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन…।’
यदि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए ‘जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर’ केन्द्रीय कमिटीले गरेको छ ।
मंगलबार मध्यरात सकिएको केन्द्रीय कमिटी बैठकको यो निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका छन् । उनीहरुले यसलाई राजनीति गर्न पाउने नैसर्गिक अधिकारलाई रोक्न खोजेको र जनताको बहुदलीय जनवाद (जबज)को विरुद्ध पनि भएको भन्दै असहमति जनाएका हुन् ।
पनि एमाले केन्द्रीय कमिटी बैठकबाट आफूलाई पार्टी राजनीति गर्न रोक लगाउने निर्णय सार्वजनिक हुने संकेत पाउनासाथ निजी निवासमा पत्रकारहरु भेला गरेर चुप लागेर नबस्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘माझकिराँतकी छोरी हुँ । खुट्टा कमाउँदिनँ ।’


















