पत्रकारमाथि धरपकडको छानबिनका निम्ति संसदीय समिति गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो।

कांग्रेसले पत्रकारमाथि धरपकड गर्ने प्रहरी तथा त्यसका लागि आदेश दिने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने जनाएको छ। स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमा प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको दबाब र विधिको शासनविपरीत भएको कांग्रेसको ठहर छ।