यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडे । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र रु विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानेन ।
जब उनी मेलापात सकेर घर फर्किए, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखे । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाए । फोन काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेस्र्याए । उनले सबै जवाफ दिए ।
एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो र किन भनेर सोधे । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाउए । कार्कीले पछि मिलाएर आउँछु भने । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौँमा सम्पर्क गर्न भनियो ।
“पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ”, उनले भने, “सुरुमा पुरस्कार पर्यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।” तर जब काठमाडौँमा रहेका देवरले भनेपछि राम्र्रो उपहार परेको हो की भन्ने भयो । देवरले एकपटक काठमाडौँ आउनुहुन्छ त रु भनेपछि मात्र उनलाई साँच्चिकै पुरस्कार हो की भन्ने भयो ।
उनी मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौँका लागि गाडी चढे । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगे । “एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन”, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भने, “अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिए, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।”
कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उहाँको झण्डै आठ वर्षअघिको हो । “स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्थे”, उनले भने, “आज त्यही प्याकले रु एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दु:ख हट्ने भयो भन्ने मनमा लागेको छ ।”
उनको जीवन कैयौँ दु:ख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमान्सँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमान्ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ ।
यद्यपि भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । “कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ”, उनले भने । उनको जीवनमा ब्रजपात त तब पर्यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । विसं २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्यो ।
धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ । विदेशमा श्रीमान्ले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि महिला स्वयंसेविकाका रुपमा थोरै भए पनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउछन् ।
गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेको हो । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो ।
खाडीको चर्को गर्मीमा श्रीमान्ले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउथियो । त्यही रकमले घरखर्च चलाउथियो उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र रु कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दु:ख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमान्लाई देशमै जागिर गर्र्न सुझाव दिए ।
“विदेशमा उहाँले गरेको दु:ख थाहा छ, रोगले च्याप्दा पनि उनले काम गरिरहन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्यौँ”, उनले विगत सम्झिँदै सुनाए । तर भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो ।
ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । रु नौ लाखमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाएन । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उनी अहिले पनि बहराइनमै छन् । “दुई वर्षपछि आउने भन्नेथ्यने, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भनेको छ”, उनले भने ।
बहराइनमा श्रीमान्को शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा रु १५/२० हजार पठाइरहन्छ । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताए । एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उहाँका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ ।
प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुसी छिन्। “यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने थियो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन”, उाले भो ।
ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । “यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं”, उनले भने । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ ।


















