लिभरपुलका मोहम्मद सालाहले युरोपको फुटबल प्रशासकीय निकाय युइएफएको ‘प्यालेस्टिनी पेले’ सुलेमान अल–ओबेदलाई श्रद्धाञ्जलि पोस्ट गरेकोमा आलोचना गर्नुभएको छ । पोस्टमा गाजा पट्टीमा इजरायली गोली हानाहानमा पूर्व अन्तर्राष्ट्रिय खेलाडीको मृत्यु भएको उल्लेख गरिएको छैन ।
प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा बुधबार ४१ वर्षीय ओबेद मारिएको थियो ।” युरोपको फुटबल प्रशासकीय निकाय युइएफएले एक्समा पोस्ट गरेको छ, “सुलेमान अल–ओबेद, ‘प्यालेस्टिनी पेले’ लाई बिदाइ । एक प्रतिभा जसले अन्धकारको समयमा पनि अनगिन्ती बच्चाहरूलाई आशा दिए ।”
इजिप्टका स्ट्राइकर सालाहले पोस्ट गरेर जवाफ दिए, “के तपाईँ हामीलाई बताउन सक्नुहुन्छ कि उहाँको मृत्यु कसरी, कहाँ र किन भयो ?” गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए । उहाँले प्यालेस्टिनी टिमका लागि २४ वटा अन्तर्राष्ट्रिय खेल खेले ।
सन् २०२३ अक्टोबरमा सालाहले ‘निर्दोष आत्माहरूको थप हत्या रोक्न’ गाजामा मानवीय सहायताको अनुमति दिन ‘विश्व नेताहरूलाई एकजुट हुन’ आह्वान गरेको थियो । प्यालेस्टिनी लडाकू समूह हमासको सन् २०२३ अक्टोबरमा इजरायलमाथिको आक्रमणबाट सुरु भएको गाजा युद्धको सुरुआतदेखि पिएफएका अनुसार खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन्, जसमा फुटबल समुदायका तीन सय २१ जना छन् ।
गत सिजन प्रिमियर लिगको शीर्ष स्कोरर रहेका सालाहले आइतबार लिभरपुलका लागि वेम्बलीको कम्युनिटी सिल्डमा इङ्गलिस फुटबल सिजनको परम्परागत पर्दा उठाउने क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ ।


















