नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ९:३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुन:सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४:२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उहाँले जानकारी दिए । आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।