उर्जा बोकेर हिंडिरहेछु!

मानिस अचम्मको प्राणी हो, म यसबाट अछुत छैन। यदाकदा आफन्त वा साथी भाई भेट्नै हुंदैन। माथीको शीर्षक मेरो थेगो जस्तै भइसक्यो। जुलाई २०२५को आकडा इकित गर्दै ८७ वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्रिप्टो वाहेक ५ दशमलब १ बिलियन डलरपति, विश्वकै धनी ३९३ बिलियन डलर भन्दा बढीका मालिक एलन मस्क आदिको उदाहरण दिंदै मानिसमा के कति उर्जा हुन्छ कसले मापन गर्न सक्छ भनि सोच्छु ? मार्क जुकेरवर्ग, बिल गेट्स आदिको नाम उच्चारण गर्दै, म त वरिपरिकालाई अभिप्रेरित मात्र गर्दिन बरु, झस्काइ पनि दिन्छु।

विश्वका उर्जाशील व्यक्तिहरूको कुरा गरेर सुन्ने हो, जान्ने हो। तर आफ्नै देशमा भएका उर्जावान व्यक्तिहरूको चर्चा गर्ने र उनीहरूबाट उर्जीत हुने पो हो कि? यस देशमा त्यस्ता अग्रजहरूले जन्म लिए जसको नाम लिंदामात्र पनि हामी आल्हादीत हुन्छौं। के धरती पुत्री सीताको जन्म यहीं भएको हैन? सिद्धार्थ गौतम यहीं जन्मेर विश्व जगतमा शान्तिको ज्वाला फिंजाएनन्? यस संसारमा बैद्ध धर्म अवलम्बन गर्नेको संख्या ५३ करोड ५० लाख छन् भनिन्छ। सानो गोरखा राज्यमा जन्मेर पृथ्वीनारायण शाहले यो नेपाल आर्जैका हैनन्? भानुभक्त आचार्य, मोतीराम भटृ, अंशुवर्मा, भृकुटी, अरनिको, अमर सिंह, भीमसेन थापा, बलभद्र कुंवर तथा चार सहिदहरूले के नेपालमा आफ्ना उर्जा सिंचित गरेका थिएनन्? राजामा महेन्द्र, त्यस्तै सर्वसाधारणमा अनगिनत उच्चकोटीका कलाकार, कवि, नीतिज्ञ, सुरवीरहरू को को जन्मेनन् र नेपालमा कति गणना गरौं, म त भन्छु: नेपाल सम्पूर्णनै यति विविधतालेयुक्त छ कि, नेपाल र नेपालीको उर्जा विश्वमा अविजित भइरहेकाछन्।

केही वर्ष अघिको कुरा हो। मेरो छापिने क्रमको किताबमा एक ठाउंमा पृष्ठ खाली हुने भो के गर्ने भनेर किताबको स्वरुप निर्माताले सोधे। केही दिन देखि सानो बालक नातिले कुनै कुरामा मलाई तरङ्गित पारिरहेको थियो। अनायास उनलाई मैले ‘चार वर्षमा हिंडिरहेको बालक सम्पूर्ण जान्दछु भन्छ। भगवान् मलाई पनि सधैं बालक बनाइदेउ!’ राखिदिनु भने। अर्थात् भरखर जन्मेको प्राणी किन नहोस् उसलाई प्रकृतिले अथाह उर्जा दिएको हुन्छ। कति त्यसको सदुपयोग गर्ने भन्ने कुरा मात्र त्यही जीवमा निर्भर रहन्छ।

विगत मात्र किन? वर्तमानकै कुरा गरौं। प्राध्याक शुरेसराज शर्मा, उच्च प्रशासकको हैसियतमा रहेकै थिए। विश्वविद्यालयमा साताको एकाध कक्षा लिंदा तलब पाकिहाल्थ्यो। उनलाई किन नयां विश्वविद्यालय खोल्छु भन्ने सनक चढ्यो?, प्रश्न गर्न सकिन्छ। उनलाई शिक्षामा रहेका कमिकमजोरीले पोलिरहेको थियो, स्तरीय शिक्षा देशमा रहेन भन्दै नेपालले बल्लबल्ल जोगाएको विदेशी मुद्राको ठुलो धनरासी उच्च शिक्षाको नामामा विदेश पलायन भइरहेको थियो र पढन गएका उतै रमाएर नर्फकेपछि देश कसरी उन्नत बन्छ भन्ने तडपपना थियो। तब उनको त्यो पोलाईको उर्जा बेजोडसंग थपिंदै गयो, फलस्वरुप उनको कल्पनामा रहेको आजको काठमाण्डौं विश्वविद्यालयको प्रादुर्भाव भयो।

नेत्र विशेषज्ञ डा. सन्दुक रुइत: बिकट ओलाङ्चुकगोलाको वालुङ भन्ने सानो गाउंमा जन्मे। माहिलो छोरा हो तापनि कारणबश आजु बन्न गुम्बाबास जानेमा परेनन्। तापनि, छुकछुके बेलामा पटक पटक घाउचोट हुंदा गुम्बा लगिएकाले, भिक्षुहरूको करुणाभाव, ममता, श्नेह र भगवानसंग गरिने प्रार्थनाको उर्जा उनले गुम्बाबाट सानैमा अकल्पनीयरुपमा सिकेछन्। परिवारको सदस्य सानैमा बिते पछि दुखी बनेर चिकित्सा पढछु, पढछु भन्ने उर्जा लिएछन्। भारतबाट चिकित्सा स्नातक गरे। समुद्रपार गएर पनि पढे, काम गरे। अस्ट्रेलियामा राम्रो तलब पाइन्थ्यो तापनि रुइत दम्पतीलाई नेपालै फर्कनु पर्ने कारण थियो: उर्जा नेपालमै सिंचने। तिलगंगा आंखा अस्पताल शुरु गरे। सेवा सुरु भएको एक दशकमै यसको सेवा नेपाल बाहिर भारत, चीन, इण्डोनेशिया, म्यानमार, उत्तर कोरिया र भूटानका कुनाकाना सम्म पुर्‍याए। के यी सब एउटा अत्यन्त सुखद कुरा हैन र? यो केले गर्‍यो त, उनमा रहको उर्जाले नै त हो।

प्राध्यापक नरोत्तम उपाध्याय त्रिभुवन विश्वविद्यालयमा रजिष्ट्रार थिए। सतचालीस सालको हुरीमा बाहिरित पुगे। व्यवस्थापन संकायमा कीर्तिपुरमा साताको एकाध कक्षा लिएर पारिश्रमिक पचाउन सक्थे। तर उनमा नानी बाबुहरूलाई आहार व्याहार, नैतिकता, ज्ञान (केवल घोकन्ते र तोकिएको शिक्षा हैन)आदि कुरामा सानै देखि अभ्यस्त गराउन सकेमात्र पक्का मानव बन्न सक्छ भन्ने हुटहुटीको उर्जा थियो र उनले सन् १९९६मा टोखामा सत्य साई शिक्षा सदनको स्थापना गरे। जे रोप्छौं, तद्अनुरुप न फल्ने हो, उनको स्पष्ट धारणा छ: पक्का मानिस बनाउने हो भने सानो देखिनै सत्यवान, चरित्रवान, शान्तिप्रिय, दयाशील एवं हिंसानगर्ने आदि कुराको ज्ञान दिंदै सोको अभ्यास त गराउनै पर्छ। सो सदनमा वर्षेनी ४०० हाराहारिमा बालबालिका नयां भर्ना हुन्छन्। ३३ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा दुई ठुला भवनमा कक्षा कोठाहरू छन्। छात्रा एवं छात्रका लागि छुट्टा छुटृै दुई छात्राबास भवन छन्। शिक्षकहरूका लागि आवास भवन तथा प्रशासकीय भवनहरू छन्। ३० भन्दा वढी शिक्षक एवं कर्मचारी र सहयोगी गरी अन्य २५ जनाले त्यहां रोजगारी पाएका छन्। बस तथा सानो मोटर १ समेत् ५ वटा छन्। कतै पढें छात्राबास सहितको ७ कक्षासम्म मासिक शुल्क १८००। तथा सो देखि माथी २२०० लाग्छ।

अर्थात् कथंकदाचित बढेकै छ भने पनि ज्यादै थोरै थप भएको हुनुपर्छ। सदनमा अनुशासनमा रही, मानवीय मूल्यमान्यतामा आधारित भएर, रचनात्मक सोच गर्ने एवं समालोचनात्मक बन्न सक्ने ज्ञान, कला सिकाउने र अभ्यास गराउने गरिन्छ। सुनियो अधिकांश विद्यार्थी उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने गरेका छन्। कत्रो सफलता! यति थोरै शुल्कमा स्तरीय शिक्षा प्राध्यापक उपाध्यायको उर्जालेनै दिन सकेको हो। हैन त? त्रिभुवन विश्वविद्यालयमा आर्थिक प्रशासनको नेतृत्वगर्दा दोहोरो लेखा प्रणाली सुरुवात गर्ने; सरकारलाई कुनै थप दायित्व नपर्ने गरी विश्वविद्यालयका शिक्षक कर्मचारीलाई निबृत्तभरण उपलव्ध गराउन सकिन्छ भन्ने रणनीति पेश गर्ने; परीक्षा पद्धतिलाई तालिकाबद्ध बनाउने लगायत परीक्षा उत्तर पुस्तिका जांची बुझाए पछि पारिश्रमिक लिन पटक पटक धाउनु पर्ने चलनलाई तोडी सोही दिन एकै छिनमा रकम भुक्तानी हुने व्यवस्था मिलाएको जस्ता अग्रगामी कामहरू गरेको श्रेय प्राध्यापक उपाध्यायलाईनै जान्छ। व्यवस्थापन पढेर कुनै पनि निकायलाई सहिढंगले व्यवस्थापन गर्न सक्ने हैसियतको फलस्वस्प हाल सिक्षा सदन नमुनीय हिसाबले सञ्चालन भइरहेको पाइन्छ।

म मुर्ख हूँ भन्दै चिच्याउंदै हिंड्ने डा. महावीर पुनलाई हामीले के भन्ने? म्याग्दीको एउटा सानो गाउं न्यागीमा जन्मिएका र गाउँमा केही कक्षा माथी पढाई नभएकोले बुबाले चितवन लगेर पढाएका उनले, अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकतकोत्तर गरेका हुन्। उनलाई त्यहीं थप अध्ययन अनुसन्धानमा लाग्न प्रेरणा थियो। तापनि, नेपालमै केही गर्नुपर्छ, यहीं केही भएको छैन भन्दै फर्केर आए। जन्मथलो म्याग्दीनै पुगे र त्यसबखत असंभव ठानिएको ताररहित इन्टरनेट सेवा सुरु गरे। सोको माध्ययमबाट, इमेल, टेलिमेडिसिन तथा ई–शिक्षा जस्ता कृयाकलापहरू त्यो निर्जन गाउंमै निर्वाध प्रवाह गरे, गराए। सानो सोचले देश बन्दैन भन्दै उनले सन् २०१२मा राष्ट्रिय आविश्कार केन्द्रको स्थापना गरे। जहां हाल झण्डै दुई दर्जन परियोजना मार्फत् नवप्रवर्तनका कामहरू भइरहेका छन्। पढेर योग्य हुंदैमा मात्र पुग्दैन, बरु नयाँ केही गर्ने विचार प्रतिभा बोक्ने युवालाई उत्पे्ररित गरियो भने देशको लागि धेरै गर्न सक्छन्, गरिरहेका छन्, उनको ठम्याई छ। यस्ता अन्वेषणको काममा आफैं इन्जिनियर, आफैं वैज्ञानिक, आफैं आविष्कार बन्न जोश एवं नयां सोच लिएर आउनेलाई जे जति सरसामाग्री चाहिन्छ राष्ट्रिय आविश्कार केन्दले जुटांउछ, उनी ठोकुवा गर्छन्। यस्तो काम आविश्कार केन्द्रको नेतृत्वमा पोखरामा पनि हुन थालेको छ। यसरी नेपालमा नवप्रवर्तनको क्षेत्रमा निकै सकारात्मक नतिजा प्राप्त भइरहेका छन्।

महावीर पुनको तेश्रो अभियान भनेको सरकारबाट सुरुमा केही रकम समेत् जुटाइने भनेर, वीरगञ्जको कृषि औजार कारखाना पुन: सञ्चालन गरिदिन श्री पुनलाई गरिएको आग्रह थियो। सरकारले बचन दिए बमोजिमको रकम त प्राप्त हुन सकेन र बीचैमा अडकिने स्थिति भोग्नु पर्दा उनले बरु आफ्नो किताबनै नेपालीलाई बेचेर यो संस्था नचलाई छाड्दिन भन्ने उर्जा लिएर सो अभियानमा होमिइ रहेकाछन्। च्याट जीपीटी भन्छ: ०८२ श्राबण १५सम्म उनले दुइलाख अठारहजार जति किताब बेचेर १२ करोड उठाएका छन्। उनले १५ देखि २० करोड भए उक्त कारखाना सञ्चालनमा आउन सक्छ भन्ने आंकडा निकालेकाछन्। झटृ हेर्दा खर्च कटाएर करिब १० करोड किताबबाट निक्लियो कि भन्ने अडकल काटन सकिन्छ। अव केही थप रकम जुटेमा नेपाललाई अत्यावश्यक भएको कृषि औजार उत्पादन गर्ने एउटा राम्रो कारखाना स्थापित हुने देखिन्छ। हेरौं त एउटा मानिसको उर्जाले के गर्न सक्दैन? केवल गर्छु, गर्छु भन्ने अठोट चाहिन्छ, निराशालाई मनबाट फालिदिनु पर्छ, एकलव्य त हुनैपर्छ। उनको नाम अनुरुपको काम। अर्थात्, महावीरबाट जो कोहीले सिक्ने भनेको यस्ता उर्जा हुन्।

कुशल व्यवस्थापक कुलमान घिसिङले १८ घण्टा सम्म बत्ति निभेर देश अन्धकारमय भइिरहेको र व्यापक घाटामा गइरहेको विद्युत प्राधिकरणलाई आफ्नो उर्जाले सिञ्चित गरेर लोड सेडिङ मात्र हटाएनन्, बरु सो संस्थाको घाटा कमगरी नाफा उन्मुख गर्दै लगे। यस्तो उर्जा त जुनसुकै संस्थाको उच्च प्रशासकमा रहोस्, तबमात्र देशले छलाङ् मार्न सक्छ। ठिक व्यक्ति, उपयुक्त समयमा, सम्वन्धीत संस्थामा नियुक्त गर्न सकेमा मात्र उर्जाले उर्जाको जादु देखांउदो रहेछ। सरकार यस मामलामा अत्यन्त सचेत हुन सकोस्, नेपालीमात्रको यस्तो चाहना सदा रहन्छ।

माथी उदाहरणको रुपमा केही थोरै महानुभावहरूका बारेमा चर्चा गरियो। खेलकूद क्षेत्रत्मा रोहित चन्द, सन्दिप लामिछाने, सरस्वती चौधरी, तासीलाक्पा शेर्पा, प्रिन्स दाहाल लगायत थुप्राले आफ्ना उर्जा भरपुर पोखेर नेपाललाई विश्व जगतमा चिनाउंदैछन्। स्वास्थ्य सेवामा माथि उल्लेख भएको अतिरिक्त डा गोविन्द के सी, डा बसन्त पन्त, डा भगवान कोइराला, डा अरुणा उप्रेती, डा ओममुर्ती अनिल जस्ताका उर्जा अतुलनीय छन्। प्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, व्यापार, जलश्रोत लगायत अन्यान्य प्राविधिक विधाहरूमा थुप्रै अत्यन्त निस्पक्ष, सबल, योग्य, अनुभवी तथा उर्जावान नेपालीहरू नेपालमा र विश्व जगत्मा ख्याती फैलाइ रहेकाछन्। आजकल खाडी मूलक एवं विकसित देशमा काम गरेर वा अध्ययन गरी जानेर आएपछि, नेपालमा विविध व्यवसाय गर्नेहरू बढीरहेकाछन्। अष्ट्रिच, गाइबस्तु, बंगुर आदि पालनको अतिरिक्त खेतीपाती, फलफूल तथा कफि चिया जस्ता बस्तुको उत्पादन तथा नयां प्रकारका पहिरन व्यवसाय आदिमा युवा जगत जुट्न थालेको खुशीको खबर बारबार सुन्न, हेर्न पाइएका छन्। अझ यस्तो भनेको सुनेको छु: करीव दुईलाख गैर आवासीय नेपाललीले नेपालमा ठुलो लगानी गर्न सक्ने क्षमता राख्छन्। राष्ट्रले यस्ता उर्जावान शक्तिहरूलाई नेपालमा एक भएर जुट्न सहजीकरण गरिदिने हो, आह्वान गर्ने हो, वातावरण सरलीकृत गरिदिने हो, तब न यी सब मेरो जन्मथलोको म सेवक हुं, म मातृभूमिको ऋण तीर्न इच्छुक छु, सकेको योगदान गर्न आतुर छु भनेर आउंछन्।

नेपालको भू-बनोट , प्रकृति तथा बाहुबल अर्थात् मानवीय उर्जाको कुरा गर्ने हो भने यसलाई विश्वका थुप्रा विशिष्ठतम् व्यक्तिहरूले भूस्वर्गकै रुपमा मूल्यांकन गरेको पाइन्छ। पचासको दशकको कुरा हो। एक जना डेनिस पहिलोपल्ट नेपाल आए र अन्नपूर्ण पदमार्गमा साता बिताई काठमाडौँ फर्केका हुन्छन्। संयोगबश उनीसंग छोटो उठबस गर्ने मौका मिल्छ। उनले यस्तो भनेका थिए: ‘नेपाललाई गरीब देश किन भनिन्छ होला? मलाई त नेपाल अत्यन्त अमीर देश लाग्यो। यत्तिका प्राकृतिक श्रोत भएको देश गरीव त हुनै सक्दैन!’ उनको त्यो दृढ ठोकुवालाई म जहिले पनि नमन गर्छु। हो सायद हामीले आफ्नै देश चिन्न पो नसकेका हौं कि?

हामीले आजसम्म हाम्रा हिमालहरूलाई तिनका स्वच्छतामा ध्यान दिंदै के कुन प्रकारको उपलब्धी हासिल गर्न सकिन्छ भनेर कुनै ठोस अध्ययन गरेका छौं? केवल हिमाल चढनेसंग चढाइ शुल्क असुलेर हिमालको उर्जालाई उचित सदुपयोग भयो, यत्तिनै हो भन्न सकिन्छ? त्यतिकै लागि मात्र विश्वको सब्र्बोच शीखर प्रकृतिले नेपालीलाई दिएकी हुन? हाम्रा यी थुप्रा पहाड के बेकम्मा ठिङ्गउठेको डांडा पाखा मात्र हुन् र? पहाडहरूमा हामीले के कस्ता श्रृजना रोपेर कुन कुन बहुमूल्य सामाग्रीको जगेर्ना गर्न सक्छौं भनेर सोध खोज गरेका छौं? यत्रा नदी बहाइ दिएर, दक्षिणका समथर मधेश दिनु पनि त हामीलाई पर्याप्त खाद्य सामाग्रीको लागि प्रकृतिबाट प्राप्त अमूल्य बरदान होलानी हैन र? जलश्रोत विज्ञसंग कुरा गर्‍यो नेपाल त यस उर्जामा अत्यन्त धनि मुलुक हो भन्छन्। चराविद्संग कुरा गर्दा विश्वमा पाइने मध्ये झण्डै ९ प्रतिसत चराहरू यहि सानो नेपालमा पाइन्छ भन्छन्। वातावरणविद्संग छलफलमा जुट्ने हो भने यो देश जैविक विविधताले भरिपूर्ण छ भन्छन्। उनीहरूका अनुसार यहां ७००० भन्दा बढी प्रजातीका बनस्पती पाइन्छ रे। आयुर्वेद विशेषज्ञ भन्छन्– ७०० भन्दा वढी औषधीय गुण भएका बनस्पती नेपालमा छन्, आयुर्वेद त जीवन विज्ञान हो। तसर्थ, यस विधामा आयुर्वेद पर्यटनकै विकास गर्न सकिन्छ, उनीहरू भन्छन्। स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्– नेपालमा स्तरीय चिकित्सा सेवा प्रदान गर्ने हो भने विकसित देशका नागरिकहरू थाइल्याण्ड वा भारतमा स्वास्थ्य पर्यटक बनेर आएझैं यहां पनि घुंइचो लाग्न सक्छ। शिक्षाविद्हरू त उच्चस्तरीय शिक्षण संस्थाहरू नेपालका विभिन्न स्थानमा विकास गर्ने हो भने सार्क मुलुककै विद्यार्थी हामीले थाम्न नसक्ने गरी आउने सम्भावना देख्छन्।

सारांशमा नेपाल विविध उर्जा भएको देश हो। माथि उल्लेखीत उर्जाले ओतपोत भएका व्यक्तिहरू केही उदाहरण मात्र हुन्। हरेक नेपालीमा यो देशको उर्जा भरपूर विद्यमान छ। राजनीतिज्ञहरूले दल भन्दा माथी उठेर नेपाल अबको ५० वर्षमा कहां पुग्ने हो, सो गन्तव्य ठिकसंग पहिल्याएर दीर्घकालीन नीति पारित गर्ने। विज्ञ एवं प्रशासकहरूले गहिरो अनुसन्धान गरेर तद्अनुरुप रणनीति अर्थात् कार्ययोजना निर्माण गर्ने र ऐन, नियम निर्देशिका बनाउने अनि बांकी हामी सम्पूर्ण नेपालीलाई नेपाल बनाउन आऊ, भनेर देशले आह्वान गर्ने हो भने यो हरफकार, तपाईं, वा उहां सबै एक एकले भन्ने छौं: तयार छु ‘म उर्जाबोकेर हिंडिरहे छु!’