जनावरमाथि मान्छेको भाषिक अन्याय

 

हामी मानवले बोल्ने भाषा हरुमा  जनावरहरूको प्रयोग हेर्दा एउटा अचम्मको विरोधाभास देखिन्छ—सुन्दरताको उपमा दिन चाहिँ प्रायः काम नलाग्ने जनावरको नाम आउँछ, तर जीवन अर्पण गरेर मानिसलाई सेवा गर्ने जनावरलाई गालीको रूपमा प्रयोग गरिन्छ। यो चलन प्राय सबै भाषा हरुमा देखिन्छ। हरिण, मयूर, हासजस्ता जनावर, जसको प्रत्यक्ष सेवा मानिसको जीवनमा खासै छैन, सुन्दरतालाई बयान गर्न ‘मोडेल’ बनेका छन्। अर्कोतिर, गोरु, गधा, कुकुरजस्ता जनावर, जसले बिहानदेखि बेलुकीसम्म मानिसको लागि श्रम गर्छन्, भाषामा अपमानका पात्र बनेका छन्।

एक दिन, जंगलमा बसेका जनावरहरूले यो अन्यायबारे छलफल गर्न बैठक बोलाएछन् । बैठकको अध्यक्ष गोरुले गरेको  थियो, किनकि उसले वर्षौँ खेत जोतेर नेतृत्व गर्ने योग्यता कमाएको थियो। गोरुले पहिलो गुनासो राख्यो—उसले जीवनभर मिहिनेत गरे पनि, मानिसले रिसाउँदा ‘गोरु’ भनेर गाली गर्ने  चलन बसेको छ। त्यसपछि गधाले आफ्नो पीडा सुनायो—भारी बोक्नेमा विश्वस्तरीय दक्षता राखे पनि, मूर्खको पर्यायवाचीको रूपमा उसको नाम लिनु उसको पेशामाथिको अपमान हो। कुकुरले पनि भन्यो—घरको रक्षा गर्ने, वफादार हुने, साथ दिने आफ्नो गुणको मूल्यांकनको सट्टा ‘कुकुर जस्तो जीवन’ भन्ने वाक्य सुन्दा उसको आत्मसम्मानमा चोट पुग्छ।

यस गुनासोको बीचमा सुन्दरता–उपमा पाएका जनावर—हरिण, मुजुर, र हास—पनि बैठकमा आए। हरिणले भन्यो  कि उसले आफ्नो आँखाको कुनै विज्ञापन गरेको थिएन, मानिसले आफैंले त्यसलाई सौन्दर्यको मापदण्ड बनाइदिएका हुन्। मुजुरले भन्यो ऊ कहिलेकाहीँ मात्र नाच्छ, तर मानिसले हरेक सुन्दर नृत्यलाई उसको नाममा उपमा दिन थालेका छन्। हासले पनि यही कुरा दोहोर्‍यायो—उसले पानीमा पौडिनु र आफ्नो गर्दन देखाउनु बाहेक खास योगदान गरेको छैन, तर भाषामा ऊ प्रशंसाको पहिलो नम्बरमा छ।

यसपछि मानिसका प्रतिनिधिहरूलाई पनि बोलाइयो—गाउँको शिक्षक र कवि। शिक्षकले यो भाषिक परम्पराको कारण बताए—सुन्दरतालाई चित्रण गर्न विशेष प्रतीक चाहिन्छ, त्यसैले हरिण, मुजुर , हास जस्ता जनावर आउँछन्; गाली दिन चाहिँ भाव छिटो प्रकट गर्ने जनावरका नाम प्रयोग हुन्छन्। कविले भने कि कवितामा ‘गोरु खेत जोत्नेको’ चित्र भन्दा ‘हरिणको आँखा’ सजिलो र भावुक लाग्छ।

तर गोरु, गधा र कुकुरले यो तर्क मान्न सकेनन्। उनीहरूले माग राखे—अबदेखि आफूहरूलाई पनि सकारात्मक उपमा दिनुपर्छ। ‘गोरु जस्तो मेहनती’, ‘गधा जस्तो धैर्यवान्’, ‘कुकुर जस्तो वफादार’ जस्ता वाक्य प्रयोग गर्न थाल्नुपर्छ। यसमा सुन्दर जनावरहरूले पनि समर्थन जनाए—हरिणले आफूलाई ‘हरिणजस्तो डरपोक’ भनेर प्रयोग गर्न सुझाव दियो, मयूरले ‘मयूरजस्तो अहंकारी’, र हासले ‘हासजस्तो ढिलो निर्णय गर्ने’ भन्ने नयाँ वाक्यहरू प्रस्ताव गरे।

अन्ततः बैठकमा सम्झौता भयो—अब भाषामा उपमा र गाली बराबरी वितरण गरिनेछ।  कविहरूले पनि आफ्नो रचनामा श्रम गर्ने जनावरको गुणलाई स्थान दिने प्रतिज्ञा गरे। अन्तिममा सबै जनावर र मानिसले मिलेर एउटा नारा तय गरे—काम गर्नेको सम्मान गर, सुन्दर देखिनेको पनि परीक्षा गर।

यसरी, भाषामा लामो समयदेखि रहेको अन्यायलाई सच्याउने एउटा सानो कदम चालियो। सम्भवतः यो नै त्यो दिन थियो, जब गोरुले गर्वका साथ आफ्नो सिङ् उचाल्यो, गधाले बोरा बोक्दा मुस्कान दियो, र कुकुरले पुच्छर हल्लाउँदै मानव मित्रलाई फेरि स्वागत गर्‍यो।

(लेखक क्यानडा को भ्यानकुभर निबासी अर्थ शास्त्री  हुन्)