काठमाडौं । ‘हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान ! सशक्त संघ दिगो पर्वतीय पर्यटन !’, नारा लिएर चुनावी मैदानमा उत्रिएको नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचनका लागि कुल बहादुर गुरुङ समूहले गएराति भव्य कार्यक्रम गरेको थियो । चुनावको पूर्वसन्ध्यामा गुरुङ समूहले गैरीधारास्थित एलिस रिसेप्सनमा मत अपिलका साथ उक्त कार्यक्रम गरेको हो । सो कार्यक्रममा गुरुङ समूहलाई समर्थन गर्न मतदाता, समर्थन लगायतको बाक्लो उपस्थित थियो ।
कार्यक्रममा गुरुङले आफ्नो समूहलाई मतदाताले सहयोग गर्ने निश्चित भएकाले चुनाव पनि आफ्नै समूहले जित्ने निश्चित भएको बताएका थिए । उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि रहेर काम गरेका अनुभवी र सक्षम व्यक्ति उम्मेदवार भएको भन्दै कार्यक्रममा सबै उम्मेदवारहरुको बारेमा छोटकरीमा परिचित गराएका थिए । त्यस्तै, गुरुङ समूहको नेतृत्वमा तयार भएको आरोही, समावेशी र व्यवसायी उम्मेदवारहरु समेतले आफूहरुलाई मतदान गर्न उपस्थित मतदाताहरुलाई आग्रह गरेका थिए ।
नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि पर्यटन क्षेत्रमा क्रियाशील छन् । एनएमएको महासचिव भएर काम गरिसकेका गुरुङ ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)मा उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । विश्व पर्वतारोहण महासंघलगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा समेत संलग्न गुरुङको परिचय व्यवसायीको रुपमा मात्र सिमित छैन, उनी बौद्धिक एवं प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित छन् ।
नेपालको पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिमकर्ता पनि हुन् । उनी किवानियन र रोटरियन पनि हुन् । किवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आएका छन् । गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सारेका छन् ।
उनले पर्वतीय पर्यटनको लागि ८ वटा अङ्ग्रेजी अक्षर ‘एम’लाई मूल मन्त्र बनाएका छन् । आठवटा ‘एम’मार्फत माउन्टेन, माउन्टेन इन्भाइरोमेन्ट, माउन्टेन पिपुल, माउन्टेन कल्चर, माउन्टेन हेरिटेज, माउन्टेनियरिङ अपरेटर्स, माउन्टेनर्स, माउन्टेन वर्कर्सलाई समेटेर अगाडि बढ्ने उनको सोच छ । साथै, संघलाई विश्वकै उत्कृष्ट माउन्टेन रिसर्च सेन्टरको रुपमा विकास गर्ने मुख्य लक्ष्य लिएका गुरुङले माउन्टेन टुरिजममा देखिएका समस्यालाई सिंहदरबारसम्म पुर्याउन ‘बेसक्याम्प टु सिंहदरबार’ को अवधारणालाई अगाडि सार्ने बताएका छन् ।
त्यसैगरी, गुरुङ समूहमा विगत ३० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका, विश्वका आठ हजार मिटरभन्दा बढी अग्ला १४ वटै हिमालहरू आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका, नेपाली चलचित्र क्षेत्रका चर्चित महिला तथा नेपाल, भारत र अमेरिका तीनवटै देशमा अध्ययन गरी नेपालमै फर्किएर एडभेन्चर टुरिजममा मास्टर डिग्री हासिल गरेका, साइकलमार्फत १५० देशको भ्रमण गरेका आदि प्रख्यात व्यक्ति गुरुङ समूहमा उम्मेदवार छन् ।
अध्यक्षका उम्मेदवार गुरुङ समूहबाट संघको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विमल कुमार नहर्की, सचिवमा ङिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा उम्मेदवार छन् । त्यस्तै, सदस्यहरुमा पुष्कर शाह, बल बहादुर सुयाल, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदाश लामा, लाल बहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक कुमार तामाङ उम्मेदवार छन् ।
एनएमएको चुनाव यही भदौ ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । एनएमएको नयाँ कार्यसमिति चयनका लागि यतिबेला गुरुङ समूह र अर्का अध्यक्षका प्रत्याशी फुर गेल्जे शेर्पा समूह चुनावी मैदानमा छ ।



















