अच्युतप्रसाद पौडेल ‘चिन्तन’
आज कुसे औँसीः कुसग्रहण मन्त्रः विरिञ्चिनां सहोत्पन्नः परमेष्ठीनिसर्गतः । नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भवः ।।
अर्थः सृष्टिकर्ता ब्रह्मासंगै उत्पत्ति भएका कुसले मेरा सबै पापहरु हटाई सर्वकल्याण गर । कुसे औँसी भाद्रकृष्ण औँसी यसै भाद्र महिनाको ७ गते परेको छ । यसै दिन घरमा कुस भित्र्याउने हाम्रो परपूर्वकालको चलन हो । यस दिन विशेष बाबुको मुख हेर्ने र बाबु नहुनेले गोकर्ण बा कुनै शिवालय गई बा नदी, खोलामा गई श्राद्धादि, तर्पण कार्य, सिदा दानहरु गर्ने चलन छ ।
गोकर्ण आपैmँ पवित्रक्षेत्र हो, यहाँ उत्तर गया पनि छ । चन्द्रभागा तटे गच्छ गोकर्णेशो हि यत्र च । उत्तरगया महातीर्थे शतगयाफलप्रदे ।। (स्क.हि.ने.अ.१४४ श्लो.२३) अगस्त्यमुनिको प्रश्नमा स्कन्दकुमार भन्नुहुन्छः “भुजवत पर्वत, वाग्मती किनारामा गोकर्णेश्वर शिवलिङ्ग रहेको छ, मन्दिर उत्तर, पूर्वतिर चन्द्रभागा, वाग्मती र मणिमतीको सङ्गम त्रिवेणी, उत्तरगया, पितामह तीर्थ रहेको छ । यहाँ स्नान गर्दा पितृहरुको उद्धार हुनेछ । उत्तरगया महातीर्थ हो, यहाँ स्नान गर्दा फल्गु (गया) को त्यो पनि सय गुणा बढीको फल मिल्नेछ, अश्वमेध यज्ञको पुण्य प्राप्त हुनेछ, यहीँबाट अन्य तीर्थहरुको ढोका खुल्छ र यहाँको भूमि स्पर्शले पनि गयामा १० पल्ट गरेको श्राद्धको फल मिल्छ । ब्रह्माका पुत्र पुलस्त्य र उनका पुत्र विश्रवा र उनका पुत्र रावणले शिव ताण्डव स्तोत्र पाठ र मृदङ्गको तालमा नृत्य गरी शिवजीलाई छिटो खुसी गराएको क्षेत्र हो यो” ।
गोकर्णेश्वर शिवलिङ्ग ब्रह्मा निर्मित हो । अघि श्रीशिवले ३ आँखा, एक सिङ्ग भएको मृग बनी पशुपति श्लेष्मान्तक वनमा मृग बथानमा ठूलो मृग भई क्रीडा गर्न थाल्नुभयो । धेरै समय दर्शनाभिलाषी भएका ब्रह्मा, विष्णु, इन्दादि देवताहरुले कैलाश गई माता पार्वतीसंग सोद्धा शिवजी त मृगस्थलीमा अलि फरक प्रकारको मृग भई रहनुभएको छ भन्ने जानकारी पाएपछि ब्रह्मा, विष्णु, इन्द्र यहाँ आई तीनतिरबाट छेकी मृगलाई समात्नुभयो । मृगको सिङ्ग ३ टुक्रा भई ३ जनाको हातमा आयो, शिव लाजले भुतुक्कै हुनुभयो, ब्रह्मादि देवताहरुले क्षमा याचना गर्दा शिवजी भन्नुहुन्छ, “यसमा दोष छैन ब्रह्माको हातको सिङ्ग वाग्मतीतट ब्रह्म तीर्थ गोकर्णमा राख्नू, त्यो ब्रह्म तीर्थ हुनेछ, त्यहाँ गोकर्णेश्वर शिवलिङ्गमा मेरो पूजाआजा गर्नू, सबै मानिसलाई पुत्रादिले भरिपूर्ण र सौभाग्य, धनको वृद्धि हुनेछ, विष्णुको हातको सिङ्ग पातालम लगी स्थापना गर्नू, इन्द्रको हातको सिङ्ग स्वर्गमा लगेर स्थापना गर्नू” । शिवजीले भने अनुसार ३ देवताले आआप्mनो कार्य सम्पन्न गरे ।
प्राचीन समयमा एक वर्णशङ्कर, बाबुको ठेगान नभएको, कुलटापुत्र दन्तुर नामको एक वैश्य थियो । बाबु नहुँदा उसलाई बिना बाबुको छोरो भन्दै सबैले जिस्क्याउँने गर्थे । सबैले साह्रै खिल्ली उडाउन थालेकाले उसले त्यो बस्ती छोडी अन्यत्रै बस्न थाल्यो । घुम्दै एकपल्ट ऊ पुलह नामका ऋषि आश्रममा पुग्यो र भन्यो “मेरा पितृको नाम थाहा भएन, आमा पनि चाँडै बित्नुभयो, मेरा पितृको पहिचान र तिनको उद्धार कसरी होला” ? ऋषिले भन्नुभयो “हे कुमार ! हिमालको काखमा वाग्मती नदी किनारमा गोकर्ण तीर्थ छ, औँसीको समय पारी त्यहाँ गएर तर्पण श्राद्ध गर्नू सबै ठीक हुन्छ” । पुलहको आदेशमा विश्रवाको साथ पाई त्यो दन्तुर भाद्रकृष्ण चतुर्दशीमा गोकर्णेश्वरमा आई जाग्राम बसेर औँसीका दिन विधिपूर्वक श्राद्धादि कर्म पिण्डदान गर्दा सङ्कल्प पढ्दा पितृको नाम थाहा नभई बाबुको यथानाम भनी तर्पण पिण्डदान गर्दा अघि आमासंग सम्बन्ध भएका सबै आई हात थाप्न थाले । तर ब्रह्मा पनि साथै भएकाले उनको सहाराले आप्mनो खास बाबु चिनेर उसैको हातमा पिण्ड राखिदियो । सबै पितृहरु तृप्त भई उसलाई आशीर्वाद दिँदै भने, “बाबु ! अब तिमी चक्रवर्ती राजा हुनेछौ, कालान्तरमा मनु हुनेछौ, यहाँको स्पर्शले सबै खसेका पितृहरु अब उकासिने छन् । यति भनेर पातालबाट पिण्ड तर्पण खान आएका सबै पितृहरु पितृलोकतिर गए । त्यो वैश्य स्वदेश गयो, अन्त्यमा पितृहरुले दिएको आशीर्वाद सबै पायो उसले !
अघि पाञ्चाल नरेश थिए वृषकर्ण, छोरा थिए गोकर्ण । बाबु छोरा बीच बोलचाल थिएन, भेट्नासाथ श्राप मात्र गरिरहन्थे एकले अर्कालाई, तेरो यमपुरी यात्रा होस् भनिरहन्थे । बाबुको मृत्युपछि यमपुरी नै गए, बाबु मरेपछि पुत्र शोकमा रह्यो, उसले गोकर्णको महिमा कुनै गुरुबाट सुन्यो, कुशे औँसी बाबुको मुख हेर्ने दिन यहाँ आई तर्पण, पिण्ड दान गर्दा आप्mनो बाबु पिण्ड लिन त्यहाँ आई बाबुलाई स्नेह पूर्वक उसले मिठा खानेकुरा दियो, पितृ पनि खुसी भए । गोकर्णमा कुशे औँसी र पौषको गया औँसीमा विशेष मेला लाग्छ, पितृ उद्धारका लागि !
यो काठमाडौँ जिल्ला जोरपाटीबाट सुन्दरीजल जाने बाटैमा पर्छ र भव्य मन्दिर छ, अन्य धेरैमूर्तिहरु देवस्थलीहरु छन्, पवित्र वागमतीको स्नान, तर्पण गरी कुसे औँसीमा दिवंगत पितृका नाममा पिण्ड दान गर्नेहरको ठूलै भीड लाग्ने गरेको छ । हिजोआज आप्mनो पुर्खा, बंश खोज्नेहरुको भीडै छ तर यकिन पाइएको छैन । स्थानीय सरकारको पहल हुने हो भने यहाँ आउनेहरुको अलग अलग बंशावली तयार गर्न सकिन्छ कुनै समिति बनाई काम गर्ने वातावरण तयार गरिएमा ।
पिता अर्थात् जन्म दिने बाबु देवता सरह हुन् । बाँचुञ्जेल पिताको सम्मान र मरेपछि काज किरिया, तिनको पिण्ड पानी, उद्धार हाम्रो कर्तव्य नै हो । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ, पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यस मध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्षको औँसी । पितृृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिइएको छ । जन्मदिने आमा हुन्, कर्म बाटो देखाउने बुबा र शिक्षा दीक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन । त्यसैले पिता आपैmँमा एक महत्वपूर्ण तीर्थ पनि हुन् । पुन्नामनरकात् त्रायते इति पुत्रः भनिएको छ शास्त्रमा, भनौँ पुँ नामक नरकबाट उद्धार गर्ने हुनाले छोरोलाई पुत्र भनिएको हो, लालन पालन गरेर वा पिण्ड पानी दिएर या मृत्युपछि बाबा आमालाई सागरसम्म लग्दा आप्mनै काँधमा बोकेर आमा बाबुको शवलाई बोकेर घाटसम्म लग्दा प्रत्येक पाइलामा एक अश्वमेध यज्ञ बराबरको फल पाइने कुरा पनि शास्त्रमा वर्णित छ । छोराछारीले दिएका जल, तर्पण पिएर मरेका पितृ सन्तोष रहन्छन् ।
पिताको स्थान हरेक दिन उच्च रहन्छ । तथापि विशेष दिनको रुपमा कुसे औंसीलाई बाबुको मुख हेर्ने भन्ने हाम्रो चलन छ । जीवित बाबुलाई मनपरेको खाना, वस्त्र, उपहार दिएर खुशी पारी आशीर्वाद लिने गरिन्छ भने मरेका बाबुका नाममा तीर्थ गएर स्नान, दान, तर्पण, पिण्ड आदि श्राद्ध गरेमा बाबुका नाममा तीर्थ गएर, स्नान दान गरेर, तर्पण, पिण्ड आदि श्राद्ध गरेर पितृहरुबाट आध्यात्मिक स्नेह, आशीर्वाद लिने चलन छ । गोकर्णमा यस दिन मरेका पिताको दर्शन पाइन्छ भन्ने मान्यता छ । यहाँ यस दिन स्नान, दान गर्ने श्राद्ध, पिण्डदान दिने, तर्पण, सिदा दान गर्नाले पितृहरुले परम गति प्राप्त गर्छन् भनी धर्म शास्त्रहरु गर्जन्छन् । त्यहाँ जान नसक्नेहरुले आप्mना पिताको नाममा घरमा, घाटमा नजिकको तीर्थ क्षेत्र, गौशाला, सार्वजनिक स्थल, उद्यान आदि क्षेत्रमा बसेर श्राद्ध आदि कार्य गर्ने गराउने चलन छ ।


















