बा आज कुशे औंशी रे
सबै सबैले आफ्ना बाका फोटा फेसबुकमा राखेर
आफ्ना बालाई सम्झे,
हो बा सबै सबैले आफ्ना बालाई सम्झे ।
तर बा मैले त्यसो गर्न सकिन,
आज चार वर्ष विती सकेछ तिमीसँग भेट नभएको
अनि तिमी सँग सँगै बसेर गफ नगरेको ।।
बा तिमी निका आरामै त छौं नि ?
खाएका छौं नि?
हुनत तिमी खुशी भएर त होला मलाई भेट्न नआएको
अनि म बाट टाढा गएको ।
साँच्ची बा अब तिमी मसंग बोल्दैनौ र हो?
अनि नानी भनेर बोलाउँदै नौ हो?
भनन बा के तिमी साँच्ची रिसाएका हौ ?
बा तिमीलाई थाहा छ,आकाशमा ताराहरु चम्किँदा ,
म टोलाएर हेर्छु,अनि सोच्दछु सबै भन्दा चम्कने तारा बने होलान् मेरा बा,
अनि कल्पना गर्छु ,हाँसी खुसी छन् मेरा बा
तिमीले नै भनेको होनि मान्छे मरेसी तारा वन्छ भनेर
होनि बा
आकाशमा कालो बादल लागेको दिन
आकाशमा सूर्य नभएको दिन
अनि आकाशमा जुन तारा हराएको दिन
साँच्ची म तिमीलाई कुरेर दोबाटोमा बसी रहन्छु
तिमी मलाई भेट्न आयौ कि भनेर
तिमीलाई केहि भयो कि भनेर ।
हो बा तिमीले हिडाएका जीवनका बाटाहरु
अनि तिमीले दिएका जीवनका पाटाहरू
सबै सबै संगालेर राखेको छु ।
अनि तिम्रो आदर्शलाई अंगालेर राखेको छु।।
सन्तानका लागि सहरा बनेका मेरा बा
अनि जीवनका लागि टहरा बनाउने तिनै बा
एकान्तमा आँसु बगाउने मेरा बा
सदा सदा मेरै लागि पिरोलिने मेरा बा
अब त आफ्नो पनि ख्याल गर है ।
बा भनत,
कताको बाटो भएर आउछौ तिमी म निदाएको बेला अनि कुन बाटो फर्कन्छौं भनन मलाई पनि
अनि भनन कहिले आउँछौ अनि कहिले फर्कन्छौं
सुटुक्क मलाई थाहा नदिई ।
हरेक सपनामा, अनि हरेक कल्पनामा
कसरी सम्हालिने गर्छौं तिमी ।।
मलाई थाहा छ,
तिमीले मलाई मैले गर्ने भन्दा बढी माया गर्छौ ,
अनि मैले भन्दा बढी सम्झन्छौ ।
र त तिमी मेरो जीवनको बाटो पहिल्याउन
आकाशबाट मलाई नीहालिरहन्छौं।
अनि सधैं आकाशमा चम्मकी रहन्छौं ।।
साँच्ची बा तिमी सन्तानका लागि महान छौं।।।


















