रुपन्देहीमा भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कर्फ्यु बिहीबार बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गरिए पनि पुनः लागु गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९ देखि बेलुकी ७ बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बताए।
स्थानीय प्रशासन ऐन २०२८ को दफा २६ ‘क’ बमोजिम आदेश जारी गरिएको छ। कर्फ्यु अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुन अनुसार कडा भन्दा कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी कफ्र्यु आदेश जारी गरिएको प्रजीअ डा पाण्डेले जारी गरेको आदेशका उल्लेख छ।





















