पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।
लगातारको वर्षाका कारण दाउन्नेको पैसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताए । लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड आज दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको उनले जानकारी दिए ।
‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्नसक्ने अवस्था थिएन, हिलो बाटोमा ट्रक फसेर समस्या हुने गरेको छ, अहिले दिउँसो पहिरो झरेपछि सडक पूर्ण अवरुद्ध भएको हो’, उनले भने ।
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।