skip this काठमाण्डौं महानगरपालिका ११

युक्रेनबाट उद्धार गरिएका दुई नेपाली काठमाडौँ आइपुगे

युक्रेनबाट उद्धार गरिएका दुई नेपाली काठमाडौँ आइपुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पहल र जर्मनी स्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसी शुक्रबार काठमाडौँमा आइपुगेका हुन् ।

युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरू दुवै जना काठमाडौँ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरूलाई स्वागत गर्न सङ्घको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित भएका थिए । उनीहरू दुवै जनाले दुःखको बेलामा गैर आवासीय नेपाली सङ्घ र जर्मन स्थित नेपाली दूतावासले पुर्‍याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।

केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि सङ्घले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरू विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए ।