अझै अनिश्चित विपिन जोशीको अवस्था

अझै अनिश्चित विपिन जोशीको अवस्था

 

शुक्रबार हमासले गाजामा रहेका बन्धकहरूको  ‘बिदाई सूचि’सार्वजनिक    गर्‍यो । यसक्रममा इजरायल र विश्वलाई हमासले विभिन्न सन्देश दिन खोजेको देखिन्छ।

अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले हमासको यो कदमलाई ‘मनोवैज्ञानिक युद्धको एउटा महत्वपूर्ण हिस्सा’ भनेका छन् ।

 

बेपत्ता इजरायली विमान चालक रोन अरादलाई जोडियो

हमासले गाजामा रहेका बन्धकहरूको ‘बिदाई सूचि’सार्वजनिक गर्दा सन् १९८६ मा लेबनानमा हराएका इजरायली विमान चालक रोन अरादको नाम जोड्नुका पछाडि मनोवैज्ञानिक र राजनीतिक कारणहरू रहेका अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।

यसलाई एउटा सांकेतिक चेतावनी र मानसिक दबाब बढाउने रणनीतिका रूपमा व्याख्या गरिएको छ ।

हमासले ‘बिदाई सूचि’ जारी गर्नुको मुख्य उद्देश्य इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारमाथि दबाब सिर्जना गर्नु पनि हो। यसले बन्धकहरूलाई बचाउनका लागि कुनै पनि मूल्यमा सम्झौता गर्न तयार नभएको इजरायली सरकारको अडानलाई चुनौती दिएको छ ।

अझै अनिश्चित विपिन जोशीको अवस्था

यस सूचीमा नेपाली नागरिक विपिन जोशीको तस्वीर पनि समावेश गरेर हमासले उनको जीवन पनि गाजामा जारी युद्धका कारण जोखिममा रहेको सन्देश दिन खोजेको छ।

यसले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पनि उनको अवस्थाबारे चिन्ता व्यक्त गर्न र हमास तथा इजरायल दुवैमाथि दबाब बढाउन प्रेरित गर्न सक्छ।

लामो समयदेखि विपिनको अवस्था सार्वजनिक गर्न नेपालले बढाइरहेको दबाबले भने अझै काम गर्न सकेको छैन ।

गाजामा इजरायलले सैन्य कारबाही आक्रामक बनाइरहेको बेला हमासको यो कदमले विपिनको जीवन थप जोखिममा परेको छ ।