नवघोषित कुमारी आर्यतारा शाक्यको आसन ग्रहण सम्पन्न

 

 

१४ असोज, काठमाडौं। नवघोषित कुमारी आर्यतारा शाक्यको आसन ग्रहण सम्पन्न भएको छ। मध्याह्न १२:०५ बजेदेखि १२:१६ बजे बीचको शुभ साइत पारेर विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराइएको हो।

यससँगै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ।

काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि छनोट गरिएको हो।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।