बागमती प्रदेशसभाको सभामुख पदमा सत्तापक्ष र प्रतिपक्षले दाबी प्रस्तुत गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको थियो ।
असोज १ गते उपसभामुख अपसारा चापागाईंलाई राजीनामापत्र बुझाएको थियो । यद्यपी उनको राजीनामा स्वीकृत भइसकेको छैन । अब बस्ने प्रदेशसभाको बैठकले सभामुख पाठकको राजीनामा स्वीकृत गर्दै नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।
सभामुख चयनको प्रक्रिया सुरु हुने भएपछि सभामुखमा सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्ष दल नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।
केही दिनअघि बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । अर्को सत्तारुढ दल एमालेले सभामुखमा दाबी गर्ने बताएको छ । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले सभामुख आफ्नो दलले पाउनुपर्ने तर्क एमालेका नेताहरूको छ ।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले रिक्त रहेको बागमती प्रदेशसभाको सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार अहिले रिक्त रहेको सभामुख पदमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सशक्त दाबी प्रस्तुत गर्ने र त्यसका लागि प्रदेशसभाका प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।


















