माडागास्करमा जेनजी आन्दोलन : राष्ट्रपति भागेको पुष्टि भएपछि सेनाका कर्णेल नयाँ राष्ट्रपति बन्दै

जेनजी विद्रोहको बलमा सत्तामा आएका माडागास्करका नयाँ सैन्य नेताले देशको राष्ट्रपतिको रूपमा शपथ लिने घोषणा गरेका छन्। सेनाले सत्ता कब्जा गरेपछि राष्ट्रपति एन्ड्री राजोएलिना गत हप्ता देश छोडेर भाग्न बाध्य भएका थिए। कर्णेल माइकल रान्ड्रियनिरिनाले बुधवार साँझ आफूले शुक्रबार देशको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिने घोषणा गरेका हुन् ।

यो घोषणाले देशलाई गहिरो संवैधानिक सङ्कटमा धकेलेको छ । राजोएलिनाले राष्ट्रपति पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् भने उनले पहिले नै राष्ट्रिय सभा विघटन गर्न आदेश दिएका थिए। उनले सभामाथि रान्ड्रियनिरिनासँग मिलेर सैन्य सत्ता कब्जा गरेको आरोप पनि लगाएका थिए।

बुधवार साँझ एएफपी समाचार एजेन्सीलाई दिएको एक बयानमा राजोएलिनाले ‘राज्य प्रमुखको जीवनमाथि स्पष्ट र अत्यन्त गम्भीर खतराहरू’ आएपछि उनी अक्टोबर ११ र १२ बिच देश छोडेर हिँडेका थिए। समाचार रिपोर्टहरूका अनुसार राजोएलिनालाई आइतबार फ्रान्सेली सैन्य विमानबाट बाहिर निकालिएको थियो।