अफगानिस्तानमाथि आक्रमणपछि पाकिस्तान र अफगान प्रतिनिधिहरूबीच कतारमा वार्ता हुने

पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई कारबाही गरेको भोलिपल्ट, दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरूबीच शनिबार कतारको दोहामा वार्ता हुने भएको छ । यस कारबाहीमा केही नागरिकको ज्यान गएको बताइएको छ ।

पाकिस्तानी सरकारी टेलिभिजनका अनुसार, देशका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफ र गुप्तचर संस्था (आईएसआई) का प्रमुख जनरल आसिम मलिकको नेतृत्वमा एक प्रतिनिधिमण्डल वार्ताका लागि दोहा प्रस्थान गरिसकेको छ । अफगान तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि रक्षामन्त्री मोहम्मद याकूबको नेतृत्वमा अफगान प्रतिनिधिमण्डल दोहा गइसकेको पुष्टि गरेको छ ।

यो वार्ता पछिल्लो सीमावर्ती झडपपछि हुन लागेको हो, जसमा दुवै पक्षका सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान गएको रिपोर्ट गरिएको छ । दुई दिनको युद्धविरामपछि शुक्रबार पुन: तनाव बढेको थियो, जब अफगान अधिकारीहरूले पाकिस्तानमाथि पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको आरोप लगाए ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार, उक्त घटनामा १० जना सर्वसाधारणको ज्यान गएको र १२ जना घाइते भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले तीन खेलाडीको निधन भएको जानकारी दिएको छ र त्रिदेशीय टि–२० क्रिकेट श्रृंखलाबाट आफूलाई फिर्ता लिएको घोषणा गरेको छ ।

पाकिस्तानी सुरक्षा अधिकारीहरूले भने,“हवाई कारबाही ‘सटीक रूपमा’ गरिएको थियो, जसमा टिहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० सँग सम्बद्ध हाफिज गुल बहादुर समूहलाई लक्षित गरिएको थियो । पाकिस्तानका अनुसार, सोही समूहले उत्तर वजिरिस्तानस्थित सैनिक शिविरमा गरिएको आक्रमणमा संलग्न थियो, जसमा सात जना सुरक्षाकर्मीको निधन भएको थियो ।

पाकिस्तानले अफगान भू–भागमा टीटीपी लगायतका केही उग्रवादी समूहहरूको उपस्थिति रहेको दाबी गर्दै आएको छ, तर अफगान तालिबान सरकारले यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने,“जहाँबाट आतंकवादी गतिविधिहरूको सुरुवात हुन्छ, त्यहाँ उपयुक्त जवाफ दिनुपर्छ ।” साथै, उनले भारतसँग अफगानिस्तानको सम्बन्धप्रति पनि चासो व्यक्त गरेका छन् ।

त्यसैगरी, अफगान तालिबानका प्रवक्ताले आफ्ना सुरक्षाकर्मीहरूलाई संयमित रूपमा प्रस्तुत हुन निर्देशन दिइएको जानकारी दिँदै भने,“यदि आक्रमण गरियो भने, देशको रक्षा गर्नु हरेक सैनिकको कर्तव्य हो ।”दुवै पक्षबीच हुने वार्ताबाट तनाव कम गर्ने प्रयास हुनेछ भन्ने अपेक्षा गरिएको छ ।