आज मार्गकृष्ण तृतीया, कार्तिक २२ गते, चतुर्मास महायज्ञको पूर्णाहुती, समापन हुँदैछ । काठमाडौँ महनगर ६ बौद्ध पानीटँैकी स्थित गंगेश्वर शिव पान्चायन मन्दिर परिसरमा पंक्तिकारको व्यासत्वमा सन्चालित ४ महिनाको भागवत भगवानको चर्चा विश्रामको समय हो । भागवत स्वयं भयवान रहेको कुरा सम्पूर्ण पुराणमा चर्चा छ । ३३५ अध्याय, १२ स्कन्ध र १८ हजार श्लोक भागवतका हरेक अक्षर, पद वर्ण पिच्छे मोटा भाष्यहरु तयार गर्न सकिन्छ । भागवत श्रवणले भव रोगको औषधि मिल्छ । भागवतका प्रत्येक शब्द अक्षर ब्रह्म हो । सबै पुराण र उपनिषदको सरल प्रस्तुति नै भागवत हो, त्यसैले कथन छ विद्धताको परीक्षा भागवतबाटै हुन्छ ।
यसमा ज्ञान छ र वैराग्य पनि, यसमा भक्ति छ, भागवत गीत हो, गीता पनि हो, भवाटवीको गतिलो उद्धारक पनि हो, यो पूर्ण परब्रह्म चिन्तन हो र विज्ञान पनि । यसमा सृष्टि छ, सर्ग छ, विसर्ग छ, संसार छ, जीव र जगत् छ, जगदीश्वर पनि छ । लौकिक छ र अलौकि छ । साकार छ र निराकार, कर्मकाण्ड छ र ज्ञान काण्ड अनि उपासनाकाण्ड पनि । समष्टिमा भनौँ भागवतमा जे छ संसारमा छ, यहाँ जे छेै संसारमा कतै छैन, यो साकार निराकार दुबै हो । यसमा भुक्ति छ र मुक्ति पनि र भक्ति पनि । देवकी पुत्र कृष्णको गीत हो यो र गाथा पनि, संसार तर्ने अचुक डुँगा हो भागवत । भागवत र त्यसमा सात्विक सत्संग विरलै हुन्छ । भक्त धेरै प्रकारका हुन्छन्, अर्थार्थी, ज्ञानी, जिज्ञासु, मुमुक्षु अर्थात् मुक्तिकामी । सर्वश्रेष्ठ छ यो, सरल छ, सरस पनि छ, असलमा यो वैदिक साहित्य हो, यसमा छन्द छ, यो काव्य हो र महाकाव्य हो, यसमा विराटता छ, साकारमा पूरै ब्रह्माण्ड र निराकारमा चैतन्य आत्मा हो यो । यसमा लश्वर र ईश्वरको वर्णन छ, ज्योतिष्चक्र, खगोल, भूगोल र आकाशिय समस्त पिण्डहरुको चर्चा छ, नरक छ, स्वर्ग छ, रसातल, पातालदेखि भूतल, र द्धीपहरु सबैको चर्चा छ । व्यास निर्मित भागवत पहिले श्रीविष्णुले ब्रहमालाई, ब्रह्माले सरकादिलाई सनकादिले नारदलाई नारदले भक्तिलाई व्यासले सूतजीलाई सूतजीले शौनकादिलाई , व्यासले शुकदेवलाई शुकदेवले परिच्छितलाई र विस्तारै सबैलाई हस्तान्तरण हुँदै हामीसम्म आइपुगेको हो । यसमा अवतारको प्रसंग छ, कलिमा, महाकलिमा कल्कि अवतार हुनेछ । शम्बल गाउँमा विष्णुयशका पुत्र घोडा चड्दै आएर कल्किरुपले कलिको ४ लाख ३२ हजार वर्ष पूरा गरेपछि युग परिवर्तन हुनेछ र कलियुग समाप्ति भई पुनः सत्ययुग शुरु हुनेछ भन्ने वर्णान भागवतमा भएको छ र द्धापरको समापन श्रीकृष्णको विदाको समय बितेको अहिले ५ हजार १२६ वर्ष भएको छ । भागवत त्यो पनि भक्तिपूर्वकको श्रवणको अबसर देव पितृहरुको संकेत र आशीर्वादले मात्रै मिल्छ ।
पंक्तिकारले यस वर्षको चतुर्मासमा गंगेश्वर शिव पान्चायनमा भागवत कथा, अलौकिक प्रवचन सम्पन्न गरेको छ । आज तिलार्चन, हवनादि कार्य, नव ग्रह, अष्ट चिरन्जिवि पूजा सहित पूर्णपात्र, शुभाशीर्वचनका साथ गुरु विदाइको कार्यक्रम रहेको छ । सम्पूर्ण भक्त, श्रोता प्रति आभार र आशीर्वाद पनि छ ।
पंक्तिकारलाई आजै कायक्रमको समापनका अवसरमा संस्थाले अभिनन्दन गर्दै छ । स्थानीय समाजसेवी भक्त, समिति सबैको उत्साहपूर्ण समुपस्थितिमा विशिष्ट अतिथि धार्मिक कार्यमा हरेक वखत सरिक भइरहने युवा नेतृत्व लिइरहनु भएका गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल, त्यस्तै का म पा वार्ड नं ७ का वार्ड अध्यक्ष विमल कुमार होडा, त्यस्तै का म पा वार्ड अध्यक्ष भुवन लामा सहित संस्थाका पदाधिकारीहरुको तर्पmबाट पंक्तिकारलाई अभिनन्दन गरिँदैछ । अथक साधनामा रहिरहँदा ४ महिना लामो कार्यक्रम अटुट रुपमा सन्चालन गर्दै सबैप्रतिको मनमा रहन सफल भएका गुरुजी भन्दै पंक्तिकारलाई विशेष अभिनन्दन गरिँदैछ । राष्टृ कल्याण देशैभरि शान्ति र समृद्धिको प्रार्थना गर्दै स्थानीय अगुवाहरुको पहलमा सन्चालित सो सात्विक महायज्ञमा कार्यक्रम सन्चलनकै समय भाद्र २३ र २४ मा शहादत भएकाहरुका नाममा विशेष शान्ति पाठ, शान्ति प्रार्थना र हवनादि कार्य गरिएको छ र प्रहरीहरुलाई विशेष सम्मान समेत गरिएको छ । समितिका अभ्यक्ष डा. रमेशप्रसाद न्यौपाने सहितको समितिका परिबारको तर्पmबाट र स्थानीय अगुवा, दिदी बहिनी, आमा, दाजुभाइहरुको पहलबाट सबै ती कार्यहरु सम्पन्न गरिएका थिए । पंक्तिकारले लामो समयदेखि राष्टृहित र समाज कल्याणका लागि देशैभरि सात्विक महायज्ञहरु सन्चालन गर्दै आएको छ । हरये नमः नै हाम्रो अचुक औषधि हो भुक्ति र मुक्तिका लागि, नाम संकीर्तन नै अन्तिम महौषधि हो कलिका लागि, कलौ केशव कीर्तनात् भनेको छ शास्त्रले । हरि कीर्तन, कथा श्रवण नै हाम्रो अन्तिम लक्ष्य हो अस्तु ।




















