नेकपा (एमाले) का नेता महेश बस्नेतले आफू र आफ्नो पार्टी छानविनको दायरामा आउन तयार रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको बैठकमा बोल्दै उनले अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरू पनि छानविनको दायरामा आउनु पर्ने बताएका हुन् ।
बस्नेतले आफू मन्त्री हुँदा कुनै स्रोत–साधनको दुरुपयोग नगरेको दाबी गर्दै सबै एमाले नेताहरू छानविनका लागि तयार रहेको बताए । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वअर्थसचिव रामेश्वर खनाल र विद्युत प्राधिकरणका प्रमुख रहँदा कुलमान घिसिङ पनि छानविनको दायरामा आउनुपर्ने टिप्पणी गरे ।
उनका अनुसार भारत भ्रमणका क्रममा कुलमानले गरेको अन्तरदेशीय ट्रान्समिसन सम्झौताबाट प्राधिकरणलाई ४५ करोड घाटा हुने सम्झौता भएको छ । बस्नेतले मन्त्रिपरिषद्ले अझै पूर्णता नपाएको र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै सरकारप्रति व्यङ्ग्य पनि गरेका छन् ।


















