मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
साथै, मुख्यमन्त्री कार्यालय बाहिर विरोध प्रदर्शन भएको छ। आइतबार बिहान जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालय बाहिर विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले जानकारी दिए। उनका अनुसार राजनीतिक परिवर्तनपछि एमाले बाहेकका दलहरूले प्रदर्शन गरेका हुन्।
‘कार्यालय बाहिर विरोध प्रदर्शन भएका छन्। टायर बालेका छन्। अहिले हाम्रो सुरक्षा निकायहरू तैनाथ अवस्थामा हुनुहुन्छ,’ उनले भने। उनले तोडफोड तथा आगजनीका घटनाको रिपोर्टिङ नभएको पनि बताए।
सबै राजनीतिक दलहरूसँग संवाद तथा समन्वयका लागि जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको पनि प्रजिअ लुइँटेलले जानकारी दिए। सोमबार बिहान प्रदेश प्रमुख सावित्रा सुवेदी भण्डारीले एमाले संसदीय दल नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने अवस्था रहेकै परिस्थितिमा प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध प्रदर्शन भएको हो।
एमाले बाहेकका दलहरूले मुख्यमन्त्री यादवलाई पदभार ग्रहण गर्न नदिने बताएका छन्। उनीहरूले मुख्यमन्त्री कार्यालय तालाबन्दी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयअगाडि पनि मानिसहरू जम्मा भएका छन्।



















