नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । उद्घाटन खेलमा आज साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ । प्रतियोगिताको सुरक्षाका निम्ति करिब ४० सीसीटीभी क्यामेराबाट समेत निगरानी गरिने प्रहरीले जनाइएको छ ।
‘अरू सपोर्टबाहेक (ट्राफिक, बम डिस्फोजल)करिब १५ सय सुरक्षाकर्मी परिचालन गरेका छौँ । हामीले प्रहरीको कन्ट्रोल रुमबाटै निगरानी गर्नका निम्ति ४० वटा क्यामेरा समेत जडान गरेका छौँ । प्रहरीको सहयोगमा सशस्त्र सधैँ नै हुने गर्दछ,” प्रहरीले भन्यो । प्रतियोगिता यही मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो प्रतियोगिता समेत हो ।

















