अदालतको फैसला ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ : हसिना

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाकाको एक अदालतले सोमबार आफूबारे सुनाएको फैसलालाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भन्दै निन्दा गरेकी छिन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

मृत्युदण्ड आफ्नो पार्टी अवामी लिगलाई राजनीतिक शक्तिको रूपमा खारेज गर्ने तरिका भएको उनले बताएकी छिन् । यो अभिव्यक्ति अदालतको फैसला पछि हसिनाले जारी गरेको पाँच पृष्ठ लामो विज्ञप्तिमा आएको हो ।

भारतमा निर्वासनमा रहेकी हसिनाले यसअघि उक्त मुद्दालाई ‘प्रहसन’ भन्दै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेकी थिइन् । ‘म उपयुक्त न्यायाधिकरणमा म माथि दोष लगाउनेहरूको सामना गर्न डराउँदिन’ उनले भनेकी छन् । तर न्यायाधिकरणमा प्रमाणहरूलाई निष्पक्ष रूपमा तौलिन र परीक्षण हुनुपर्ने उनको भनाइ थियो ।

अन्तरिम सरकारलाई यी आरोपहरू हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ल्याउन उनले चुनौती दिएकी थिइन् । मानवअधिकार र विकासमा उनको सरकारको रेकर्डमाथि आफूलाई निकै गर्व भएको पनि उनले बताएकी थिइन् ।