नेपाली कांग्रेसको महाधिवेशनबारे अन्योल भइरहेका बेला संस्थापन निकटका ९८ केन्द्रीय सदस्य छलफलमा जुटेका छन् । आज मध्याह्नबाटै नेताहरू छलफलमा जुटेका हुन् । पार्टीमा चुनावअघि महाधिवेशन गर्नुपर्ने दबाब बढिरहेका बेला संस्थापननिकटका नेताले छलफल गरेका हुन् ।
यसअघि ७० देखि ७५ जना रहेकोमा आजको बैठकमा ९८ जना सहभागी भएको नेता कल्याण गुरुङले जानकारी दिए । यो समूहले निर्वाचनअघि कुनै पनि हालतमा १५ औँ महाधिवेशन गर्न नसकिने अडान लिएको छ ।
फागुन २१ गतेको निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा उनीहरू छन् । संस्थापनभित्रै २५ बढी केन्द्रीय सदस्य भने पुस मसान्तभित्रै महाधिवेशनको प्रक्रिया थाल्नुपर्ने पक्षमा छन् । यो समूहले विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेतासँग सोमबार बिहान छलफल गरेका छन् ।
यसअघि उनीहरूले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतासँग छलफल गरिसकेका छन् । महाधिवेशन गरेर निर्वाचनमा जाँदा पार्टी बलियो हुने यी नेताहरूको मत छ ।
गत शनिबारको केन्द्रीय समितिको बैठकले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय मात्रै गरेको थियो । महाधिवेशनबारे निर्णय गर्नको लागि ११ मंसिरमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

















