जेन्जी सिभिक फोरम र सेन्टर फर कन्टेम्पोरेरी पोलिटिक्ससँगको सहकार्यमा संघीयता र औचित्यमाथि संवाद कार्यक्रम सम्पन्न

जेन्जी सिभिक फोरम र काठमाडौं विश्वविद्यालयद्वारा प्रदेशमा के छ? भन्ने बारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ । जेन्जी आन्दोलनको जगमा स्थापना भएको जेन्जी सिभिक फोरमले आज काठमाडौं विश्वविद्यालय (KU)अन्तर्गतको सेन्टर फर कन्टेम्पोरेरी पोलिटिक्स (Center for Contemporary Politics) सँगको सहकार्यमा संघीयता र यसको औचित्यमाथि केन्द्रित रही विशेष प्यानल संवाद कार्यक्रम सम्पन्न गरेको हो ।

प्रदेशमा के छ? शीर्षकमा आयोजित यस कार्यक्रमले नेपालमा संघीयताको अभ्यास, प्रदेश संरचनाको आवश्यकता र यसको प्रभावकारिताका विषयमा गहन विमर्श गरेका थिए । जेन्जी आन्दोलनपश्चात् आन्दोलनका विभिन्न घटकहरू राजनीतिक दल खोल्ने प्रक्रियामा सक्रिय रहिरहँदा, जेन्जी नेपालमा आबद्ध अगुवाहरूले लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्नु, बलियो नागरिक समाज (Strong Civil Society) को उपस्थिति अनिवार्य रहेको महसुस गरी जेन्जी सिभिक फोरमको स्थापना गरेका हुन्।

दलीय राजनीतिभन्दा माथि उठेर नागरिक खबरदारी र नीतिगत बहस सिर्जना गर्ने उद्देश्यले फोरमले आफ्नो गतिविधि अगाडि बढाएको छ। आज आयोजित कार्यक्रममा वक्ताहरूले विषय केन्द्रित रहेर छलफल गरेका थिए । संघीयताको वर्तमान अवस्था र यसको औचित्य, केन्द्रित शासन व्यवस्था र प्रदेश सरकारबीचको शक्ति सन्तुलन र नागरिकको नजरमा प्रदेश सरकारको भूमिका र सेवा प्रवाह, जस्ता विषयमा केन्द्रित रही छलफल गरेका थिए ।

जेन्जी सिभिक फोरमले आगामी दिनहरूमा पनि युवाहरूको सक्रिय सहभागितामा देशका समसामयिक राजनीतिक र सामाजिक मुद्दाहरूमा यस्तै वैचारिक बहस तथा नागरिक खबरदारीका कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।